कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन ९४ दशमलव ५ प्रतिशत प्रभावकारी, मध्य डिसेम्बरबाट वितरणको अपेक्षा


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

कोरोनाबिरुद्धको अमेरिकन कम्पनी मोडेर्नाले परीक्षण गरिरहेको बहुप्रतिक्षित भ्याक्सिन ९४ दशमलव ५ प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक गरिएको छ । आज कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुशार मोडेर्नाको भ्याक्सिनको प्रभावकारिता निकै उत्साहजनक पाइएको छ ।

यसअगाडि अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायो एनटेक सँग मिलेर बनाएको भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको तथ्यांक सार्वजनिक भएको थियो । मोडेर्नाको यो रिपोर्टले कोरोनाको महामारीमा ग्रस्त विश्वमा कोरोनाबिरुद्ध लड्नसक्ने आशाको संचार गरेको छ ।

अमेरिकाका बरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले यो परिणाम निकै उत्साहजनक भएको बताएका छन् । मोडेर्नाका प्रमुख मेडिकल अफिसर डाक्टर ताल ज्याक्सले यो आफ्नो करिअरकै सबैभन्दा महान क्षण भएको बताएका छन् ।

डिसेम्बरको दोश्रो सातादेखि अमेरिकामा सर्वसाधारणमा भ्याक्सिन लगाउन सुरु हुनसक्ने डाक्टर फाउचीले बताएका छन् । सुरुमा अति जोखिममा रहेकाहरुलाई भ्याक्सिन दिइने र त्यसपछि सबैका लागि उपलब्ध हुने उनको भनाई छ ।

मोडेर्नाको परीक्षणमा १५ हजारलाई सलाइनको सट दिइएकोमा ९० जनामा संक्रमण देखिएको थियो भने ११ जना सिकिस्त भएका थिए । त्यस्तै अरु १५ हजारलाई वास्तविक भ्याक्सिन नै दिइएकोमा ५ जनामा सामान्य संक्रमण देखिएको थियो भने कोहीपनि सिकिस्त भएनन् ।

भ्याक्सिनको कुनै गम्भिर साइड इफेक्ट नभएको बताइएको छ । एकदम थोरैलाई सामान्य टाउको दुख्ने र शरिर दुख्ने भएको जनाइएको छ ।

मोर्डेनाले भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि अमेरिकन खाद्य तथा औषधी प्रशासनसमक्ष यसैमहिना आवेदन दिने भएको छ । सबै तथ्यांकहरु एकीकृत गरेपछि आवेदन दिइनेछ भने विगत दुईमहिनाको तथ्यांक हेरेर एफडीएले स्वीकृति प्रदान गर्नेछ ।

मोडेर्ना र फाइजरको भ्याक्सिन एउटै प्रविधिबाट बनाइएको भएतापनि वितरणमा मोडेर्नाको भ्याक्सिन अझ सहज हुने जनाइएको छ । फाइजरको भ्याक्सिन माइनस ७५ डिग्री सेल्सियस चिसो तापक्रममा राख्नुपर्नेछ भने मोडेर्नाको भ्याक्सिन माइनस २० डिग्री सेल्सियस चिसो तापक्रममा राख्नुपर्नेछ ।

फाइजरको भ्याक्सिन राख्नका लागि विशेष फ्रिजर आवश्यक हुने भएपनि मोडेर्नाको भ्याक्सिन अहिले नै उपलब्ध फ्रिजरहरुमा राख्न सकिने भएकाले सहज तरिकाले वितरण गर्न सकिने अपेक्षा गरिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com