कोरोनाको नक्कली रिपोर्ट बोकेका ७ पक्राउ, ५ बर्ष जेल र साढे ४ लाख डलर जरिवाना हुनसक्ने
प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार
फ्रान्समा कोरोना परीक्षणको नक्कली रिपोर्ट बोकेर यात्रा गर्न खोज्दा पक्राउ परेका ७ जनालाई ५ बर्षसम्म जेल सजाय र ४ लाख ४५ हजार डलर ( ३ लाख ७५ हजार युरो ) सम्म जरिवाना हुनसक्ने भएको छ । उनीहरुले चाल्र्स डे एयरपोर्टमा कोरोना परीक्षणको नक्कली रिपोर्ट किनेको जनाइएको छ ।
पेरिसबाट आदिस अबाबा जाँदै गरेको उडानमा एकजना पक्राउ परेपछि नक्कली रिपोर्ट बेचविखन हुने गरेको पत्ता लागेको थियो । त्यसपछि गतसातामात्र अरु ७ जना पक्राउ परेका थिए । उनीहरुको कागजातहरु चेक गर्दा कोरोना परीक्षणको नेगेटिभ नक्कली रिपोर्ट किनेको पाइएको थियो । उनीहरुले १ सय ५० देखि ३ सय युरोसम्ममा उक्त नक्कली रिपोर्ट किनेका थिए ।
नक्कली नेगेटिभ रिपोर्ट बनाउँदा एउटा इमेल डाउनलोड गरेर नाम, जन्ममिति र परीक्षण मिति परिवर्तन गरेर प्रिन्ट गर्ने गरिएको जनाइएको छ । ब्रानफोर्डमा त्यस्ता नक्कली रिपोर्ट १५० पाउण्डमा र ब्लायकबर्नमा ५० पाउण्डमा बेचेको समेत खुलासा भएको थियो ।
गतसाता ४ जना ब्राजिलियन पर्यटकहरु पनि नक्कली रिपोर्ट बनाएका कारण पक्राउ परेका थिए । उनीहरुलाई जेलमा पठाइसकिएको छ । अधिकारीहरुले रिपोर्टमा उल्लेख भएको ल्याबमा फोन सम्पर्क गरेपछि उक्त रिपोर्ट नक्कली भएको खुलासा भएको थियो ।
अहिले विश्वका विभिन्न स्थानमा कोरोनाको नक्कली रिपोर्टहरु बनाएका समाचारहरु आइरहेका छन् । त्यसैले अमेरिकाका कतिपय राज्यमा स्वीकृति प्राप्त परीक्षणकर्ताहरुबाट प्राप्त रिपोर्टमात्र स्वीकार गर्न थालिएको छ । यसैबीच युनाइटेड एयरलाइन्स र क्याथे प्यासेफिकले कमनपास नामको एप्लीकेशन प्रयोग गर्न थालेका छन् । यो एप्लीकेशनमा व्यक्तिका विवरण हालेपछि ल्याबका डाटाहरु, ल्याबको रिजल्ट, भ्याक्सिनको डाटा समेत हेर्न सकिनेछ ।
अमेरिकामा भने कोरोना परीक्षण सहज र ब्यापक भएकाले नक्कली रिपोर्टको समस्या आइनसकेको बताइएको छ । तर नक्कली परीक्षण स्थलहरुले व्यक्तिका विवरणहरु चोर्न थालेका समाचारहरु भने आइरहेका छन् ।