मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

 विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो ।

उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ । प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिकिलो रु ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर रु ५० पुर्याएपछि किसान हर्षित देखिएका छन् ।

“भदौसम्म पानी परे पनि नयाँ सिजन(अटम) मा मौसम राम्रो भएकाले उत्पादन बढ्यो”, सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवाल भन्छन्, “उद्योगीले पनि चियाको मूल्य बढाए । आम्दानी राम्रै भएको छ ।” उनका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ ।

कटुवालले अनुसार यस वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएको बताए । त्यसैले पनि चियामा किसानले धेरै खर्च गर्नुपरेन । चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको इलाम नगरपालिकास्थित साँखुजुङका उद्योगी टङ्क दाहाल बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गएका वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको उनको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि यति बेलै हो ।

यो सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने पनि गर्छ । यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहन्छ भने त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन शुरु हुन्छ । मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न धेरै समय चियामा लाग्ने गरेको सूर्योदय नगरपालिकाका अर्का किसान डम्बर प्रधान बताउँछन् ।

सिजनको शुरुबाटै आन्दोलनका कारण उल्लेखनीय फाइदा लिन नसकेका किसानलाई यो सिजनले केही राहत पुगेको प्रधानको भनाइ छ । अन्तिम सिजनको चिया टिपिसकेपछि भने करीब चार महिनापछि मात्र चिया टिप्ने गरिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com