चर्चित रिपब्लिकनहरुबाट बाइडेनलाई बधाई, यी हुन् अहिलेसम्म बधाई दिने रिपब्लिकन


प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार

चर्चित रिपब्लिकनहरुले अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदबार जो बाइडेनको जीत स्वीकार गरिसकेका छन् । पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसले बाइडेनसँग कुराकानी गरेको र बाइडेनले अमेरिकालाई नेतृत्व र एकीकृत गर्ने अवशर जितेको बताएका छन् ।

त्यस्तै जर्ज डब्ल्यु बुसका भाई तथा जर्ज बुस सिनियरका छोरा जेब बुसले बाइडेनलाई बधाई दिदै सफलताका लागि प्राथना गरेको बताएका छन् । मेरिल्याण्डका गभर्नर ल्यारी होगनले बाइडेन र ट्रम्पलाई भोट नगरी मतपत्रमा रोनाल्ड रेगन लेखेको उल्लेख गर्दै सबैले अमेरिकी राष्ट्रपति सफल भएको हेर्न चाहेको बताएका छन् ।

त्यस्तै रिपब्लिकन सांसद फ्रेड अप्टनले बाइडेनलाई बधाई दिदै आफूले अहिलेसम्म काम गरेको असल व्यक्ति भएको बताएका छन् । उनले जो बाइडेनसँग काम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

त्यस्तै सिनेटर मिट रोम्नीले बाइडेन र ह्यारिस राम्रो इच्छाशक्ति र प्रशंसनीय चरित्रका भएको बताएका छन् । साथै आगामी दिन र बर्षमा उनीहरुलाई भगवानले आशिर्वाद दिउन् भन्ने आफ्नो प्राथना रहेको उनले बताएका छन् । रोम्नी सन् २०१२ को राष्ट्रपति चुनावमा बराक ओबामाबिरुद्ध लडेका थिए ।

ओहायोका गभर्नर जोन कासिचले बाइडेनलाई बधाई दिदै बाइडेनले प्रतिज्ञा गरे अनुशार काम गर्ने र सम्पूर्ण अमेरिकाको राष्ट्रपति बन्ने अपेक्षा गरेका छन् । त्यस्तै रिपब्लिकन सांसद टम रिडले पनि बाइडेन र ह्यारिसलाई बधाई दिएका छन् ।

भर्मोन्टका रिपब्लिकन गभर्नर फिल स्कटले बाइडेनलाई मत हालेको बताएका छन् । साथै यो कठिन समयमा मुलुकको नेतृत्व गर्न बाइडेन र ह्यारिस सफल हुने विश्वास व्यक्त गरेका छन् ।

टेक्सासका पदावधी सकिदै गरेका रिपब्लिकन सांसद विल हर्डले पनि अमेरिका बोलेको र सबैले निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन् । रिपब्लिकन सांसद पल मिचेलले पनि अमेरिकाले बाइडेनलाई मुलुकको नेतृत्वमा चाहेको बताएका छन् ।

मासाचुसेट्सका रिपब्लिकन गभर्नर चार्ली बेकरले आफूले राष्ट्रपतिमा कसैलाई पनि मतदान नगरी खाली छाडेको बताउँदै सबैजना वास्तविक र तत्कालिन चुनौतीमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

युटाहका लेफेटीनेन्ट गभर्नर स्पेन्सर कक्सले बाइडेन र ह्यारिसलाई हार्दिक बधाई दिएका छन् । त्यस्तै अलास्काका रिपब्लिकन सांसदले पनि बाइडेनलाई शुभकामना दिएका छन् ।

अलास्काकै सिनेटर लिसा मुर्कोस्कीका तर्फबाट पनि बाइडेनलाई बधाई व्यक्त गरिएको छ । पदावधि सकिदै गरेका सांसद फ्रान्सिस रोनीले पनि नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई समर्थन गर्न सबैसँग आग्रह गरेका छन् ।

रिपब्लिकन सांसद डोन ब्याकनले पनि अब बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको कुरा भित्तामै लेखिइसकेको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com