जर्जिया र मिसिगनमा ट्रम्प पक्षको मुद्दा खारेज, पेन्सिलभेनियाको मुद्दा राज्यको सर्वोच्चमा


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

जर्जिया र मिसिगनमा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा खारेज गरिएको छ । जर्जियामा चुनावको दिनपछि प्राप्त मतपत्रहरु गणना नगर्न माग गर्दै रिपब्लिकनहरुले दायर गरेका मुद्दा न्यायाधिसले खारेज गरिदिएका हुन् ।

हुलाकबाट पठाइएका तर प्रकृयामा नलगिएका मतहरु प्रकृयामा लगिएका मतपत्रहरुसँग मिसाएको आफूहरुले देखेको भन्दै रिपब्लिकनले मुद्दा दायर गरेका थिए । तीनवटा मतपत्रको एउटा खात र ५३ वटा मतपत्रको अर्को खात मिसाइएको आरोप लगाइएको छ ।

त्यस्तै मिसिगनका राज्य न्यायाधिसले मत गणनाको निरिक्षण गर्न अर्थपूर्ण पहुँच हुनुपर्ने माग गर्दै ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा खारेज गरेका छन् । त्यतीबेलासम्मका लागि मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको थियो । तर न्यायाधिस सिन्थिया स्टेफनले ट्रम्प पक्षधरको अनुरोध अस्वीकार गरेको जनाइएको छ ।

त्यस्तै पेन्सिलभेनियामा ट्रम्प पक्षधरलाई मतगणना अझै नजिकबाट निरिक्षण गर्न अदालतले आदेश दिएकोमा उक्त आदेश उल्टाउन फिलाडेल्फियाका निर्वाचन अधिकारीहरुले राज्यको सर्वोच्च अदालतमा माग गरेका छन् । मुद्दामामलाका कारण आज दिउसो केहीबेर मतगणना अबरुद्ध भएको थियो ।

पार्टीका समर्थकहरुले नजिकबाट निरिक्षण गर्दा सुरक्षा र मतदाताहरुको गोप्यतालाई असर गर्ने निर्वाचन अधिकारीहरुले तर्क गरेका छन् । हुलाकबाट प्राप्त भएका मतपत्रहरुमा मतदाताहरुको विवरण समेत हुनेभएकाले नजिकबाट पार्टीका कार्यकर्ताले यस्ता त्यस्ता विवरणहरु थाहा पाउने तर्क गरिएको छ ।

पेन्सिलभेनियामा आज रातीसम्म लगभग अन्तिम नतिजा आउने अनुमान गरिएको छ । यद्यपी अझै साढे ५ लाख मतपत्रहरु गणना गर्न भने बाँकी नै रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com