अमेरिकामा सोमबार दशैंको टिका लगाउनेले सूर्योदयको तीनघण्टापछि लगाउन सुझाव, डेढघण्टा कालबेला


प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार

अमेरिकामा सोमबार दशैंको टिका लगाउनेलाई सूर्योदयको तीनघण्टापछि लगाउन उपयुक्त हुने सुझाव दिइएको छ । सूर्योदयपछिको डेढघण्टा अमृतबेला हुने र यो समयमा टिका लगाउन सके उपयुक्त हुने न्युयोर्क निवासी पण्डित ज्योतिष उद्धव शास्त्रीले जानकारी दिनुभयो ।

अमृतबेलापछिको डेढघण्टाको सयम कालबेला हुने भएकाले उक्त समयमा दशैंको टिका लगाउनु उपयुक्त नहुने उहाँले सुझाव दिनुभयो । तर कालबेला डेढघण्टामा समाप्त हुने र त्यसपछि भने दिनभर दशैंको टिका लगाउन सकिने उहाँले जानकारी दिनुभयो ।

ज्यो. प. उद्धव शास्त्री

न्युयोर्कका सन्दर्भमा सोमबार विहान ७ बजेर १९ मिनेटजाँदा सूर्योदय हुनेछ । त्यसपछिको डेढघण्टा अर्थात् ८ बजेर ४९ मिनेटसम्म अमृतबेला र त्यसपछि १० बजेर १९ मिनेटसम्म कालबेला हुनेछ । अमृतबेलामा लगाउन सम्भव नहुनेले १० बजेर १९ मिनेटपछि टिका लगाउन उपयुक्त हुने शास्त्रीको सुझाव छ ।

अमेरिकाका अन्य क्षेत्रहरुमा पनि सूर्योदयबाट हिसाब गरेर ३ घण्टापछि कालबेला टर्ने जनाइएको छ । यद्यपी दशैंमा देवीको प्रसाद कालबेलामा पनि ग्रहण गर्नसकिने कतिपयको तर्क छ ।

नेपालका मठमन्दिरहरुमा टिका चढाइसकेपछि र नेपालमा टिका लगाइसकेपछि लगाउन चाहनेले सोमबार दशैंको टिका लगाउँदा कुनै फरक नपर्ने तर साइतमा नै टिका लगाउन चाहनेले अमेरिकामा हुनेले भने आइतबारको साइतमा नै टिका लगाउनुपर्ने उहाँले बताउनुभयो । दशैंको टिका पूर्णिमासम्म लगाउनसकिने प्रचलन छ ।

अन्तर्राष्ट्रिय पञ्चाङग निर्णायक समितिले विभिन्न देशका लागि तय गरेको दशैंको टिकाको साइत यस्तो छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिकामा दशैंको टिकाको साइत नेपालमा निर्धारण गरिएको टिकाको साइत भन्दा अगाडि नै आइतबारका लागि तय गरेको छ । जस अनुशार न्युयोर्कमा अक्टोबर २५ मा विहान ११ बजेर ५ मिनेटमा, टेक्सासमा ११ बजेर ५७ मिनेटमा र क्यालिफोर्नियामा ११ बजेर २५ मिनेटमा तय गरिएको छ ।

तर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तय गरेको यो साइतको कैयन ज्योतिष पण्डितहरुले विरोध गर्दै नेपालमा टिका लगाइसकेपछि र मन्दिरमा टिका चढाइसकेपछिमात्र विदेशमा बस्नेहरुले लगाउनुपर्ने तर्क गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com