नेपालमा थपिए ३ हजार ६ सय ३७ संक्रमित, २१ जनाको मृत्यु
प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार
नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला गरिएको १५ हजार २५५ जनाको परीक्षण मध्ये ३ हजार ६३७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना जित्नेको दर ६९.२ प्रतिशत रहेको छ ।
हाल नेपालमा ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ३३९ छ भने होम आइशोलेसनमा ३१ हजार ५३८ जना छन् । क्वारेन्टिनमा रहेको संख्या ३ हजार ७५१ छ ।
उपत्यकामा थपिए १ हजार ५५२ जनामा कोरोना संक्रमित
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १२८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ३ हजार १०७ जनामा कोरोना पुष्टि भएको थियो ।
थप २१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।