कोरोना वास्तविक नभएको बताउने सोसल मिडिया फिटनेश स्टारको कोरोना संक्रमणबाट मृत्यु
प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार
आफूलाई कोरोना संक्रमण हुनु अगाडिसम्म कोरोना वास्तविक नभएको बताउने फिटनेश सम्बन्धि युक्रेनका सोसल मिडिया स्टार ३३ बर्षका दिमित्री स्टुजुकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज उनकी पूर्वपत्नीले इन्स्टाग्राममा पोष्ट गर्दै उनको मृत्यु पुष्टी गरेकी हुन् ।
कोरोना संक्रमणबाट उत्पन्न जटिलताका कारण उनको निधन भएको जनाइएको छ । उनका तीनजना छोराछोरीहरु समेत रहेका छन् । उनीसँग छुट्टीएको भएतापनि उनको निधनबाट आफू मर्माहत भएको भन्दै पूर्व पत्नीले पोष्ट गरेकी छिन् ।

४ दिन दिन अगाडिमात्र दिमित्रीले आफ्नो स्वास्थ्यबारे आफ्ना एक मिलियन फ्लोअर्सहरुलाई इन्स्टाग्रामको एउटा पोष्टमार्फत जानकारी दिएका थिए । उनले उक्त पोष्टमा आफू कोरोना संक्रमित भएको ८ दिन भएको र आफू बिरामी नहुँदासम्म कोरोना वास्तविक नभएको भ्रममा रहेको बताएका थिए ।
उनी अस्पतालबाट घरमा फर्केपछि उक्त पोष्ट गरेका थिए । तर उनले उक्त पोष्टमा अस्पतालमा रहँदाको तस्वीर सार्वजनिक गरेका थिए । उनले आफू हालै टर्कीको भ्रमणका क्रममा रहेको बेला विहान उठ्दा स्वासफेर्न गाह्रो भएको र त्यसपछि खोकी लाग्दै गएको जनाएका थिए ।
युक्रेन फर्केपछि उनको कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टी भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनले आफ्नो पोष्टमा भनेका थिए – ‘आफैलाई संक्रमण नहुँदासम्म कोभिड वास्तविक नभएको सोंच्ने व्यक्ति म नै हुँ । तर कोभिड १९ छोटो बाँच्ने रोग होइन रहेछ, निकै भारी पो रहेछ ।’
उनले आफ्नो अवस्था स्थीर रहेको बताएका थिए । तर उनको अवस्थामा सुधार भएन ।






