लक्षण नदेखिएर निको भएका अधिकांश कोरोना संक्रमितको फोक्सोमा क्षति


प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार

कोरोना संक्रमण हुनेहरुमध्ये ठूलो संख्यालाई कुनै लक्षण नै देखिएको छैन । झण्डै ४० प्रतिशत कोरोना संक्रमितहरुलाई कुनै पनि लक्षण नदेखिने गरेको विभिन्न अध्ययनले देखाएको छ । तर लक्षण नदेखिंदैमा कोरोना भाइरसले शरिरमा कुनै क्षति गरेको छैन भनेर सोंच्नु भने गलत भएको विभिन्न शोधले प्रमाणित गरेको छ ।

लक्षण नदेखिएकाहरुलाई ज्वरो नआएको हुनसक्छ, खोकी नलागेको हुनसक्छ, स्वास फेर्न गाह्रो नभएको हुनसक्छ । तर उनीहरुमध्ये अधिकांशको फोक्सोमा क्षति पुगेको देखिएको छ । क्यालिफोर्नियाको स्क्रीप्स ट्रान्सलेशनल रिसर्च इन्स्टीच्युटका अनुशार लक्षण नदेखिएका संक्रमितको फोक्सो परीक्षण गर्दा फोक्सोमा बादलजस्ता सेता प्याचहरु देखिएको छ, जसलाई ‘ग्राउण्ड ग्लास ओपासिटी’ भनिन्छ ।

ग्राउण्ड ग्लास ओपासिटी कोरोना संक्रमण भएर सिकिस्तै भएका बिरामीमा समेत देखिने गरेको छ । लक्षण नदेखिएकाहरुमा गरिएका चारवटा विभिन्न अध्ययनमा आधाभन्दा धेरैका फोक्सोमा ग्राउण्ड ग्लास ओपासिटी देखिएको छ ।

डायमण्ड प्रिन्सेस पानीजहाजमा यात्रा गरिरहेका ७१२ जनालाई संक्रमण देखिएकोमा ३३१ जनालाई कुनै लक्षण थिएन । तीमध्ये ७६ जनाको फोक्सोको परीक्षण गर्दा आधाभन्दा धेरैको फोक्सोमा क्षति देखिएको थियो । अर्थात् उनीहरुको फोक्सोमा ग्राउण्ड ग्लास ओपासिटी देखिएको थियो ।

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीकी चिकित्सक प्रोफेसर एलीन मार्टीले आफू कार्यरत अस्पतालमा आएका कुनै लक्षण नभएका ६७ प्रतिशत कोरोना संक्रमितको फोक्सोको सीटी स्क्यान गर्दा क्षति पुगेको देखिएको बताएकी छिन् । त्यसैले लक्षण नदेखिदैमा कुनै क्षति भएको छैन भनेर नसोंच्न चिकित्सकहरुले चेतावनी दिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com