नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु


प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ७४९ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८४ हजार ५५८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ५६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६९.४ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १२ हजार ३३९ छ भने होम आइशोलेसनमा २४ हजार १९४ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ८२५ छ ।

उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको थियो ।

थप १९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com