टेक्सासमा लुटेराको गोली प्रहारबाट घाइते नेपाली युवाको अवस्था गम्भिर


प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

अमेरिकाको टेक्सासको अष्टिनमा लुटेराको गोली प्रहारबाट घाइते नेपाली युवा उमेश न्यौपानेको अवस्था गम्भिर रहेको बताइएको छ । रातिको समयमा ग्यास स्टेशनमा काम गरिरहेका उनीमाथि लुटेराले गोली हानेका थिए ।

तीनजना अस्वेत व्यक्ति पसलभित्र आएको र तीमध्येको एकजनाले बन्दुक देखाएको जनाईएको छ । लुटेराले बन्दुक देखाएपछि न्यौपानेले दुबै हात माथि उठाएपनि उनलाई लुटेराले गोली प्रहार गरेको थियो ।

न्यौपानेलाई गोली प्रहार गरेपनि लुटेराले पसलबाट केही पनि नलुटी भागेको प्रहरीले जनाएको छ । गोली प्रहार गरी भागेको लुटेरा समूहले अष्टिनकै अरु दुईवटा स्टोरहरु भने लुटेको जनाइएको छ ।

लुटेराले प्रहार गरेको गोली ३५ बर्षका नेपाली युवा न्यौपानेको पेटबाट छिरेको र गम्भिर चोट लागेको जनाइएको छ । उनको स्थानीय अस्पतालको आईसीयूमा उपचार भइरहको छ ।

घाइतेको पेटको शल्यक्रिया गरिएको छ र गोलीले ड्यामेज गरिएका भागहरुलाई जोगाउने प्रयास गरिएको छ । उनको एउटा मृगौलामा पनि गोली लागेको छ । उनको होस खुलेपनि अवस्था अझै गम्भिर रहेको जनाइएको छ ।

नेपालको सिराहाबाट अमेरिका आएका न्यौपानेका श्रीमती र एउटा बच्चासहित सपरिवार अष्टिनमै बस्दै आएका छन् ।

अमेरिकामा अहिलेसम्म ग्यास स्टेशनमा काम गर्ने दौरानमा कैयन नेपालीको ज्यान गइसकेको छ । अहिलेसम्मका घटना हेर्दा प्राय घटना रातमा भएका छन् र लुटेराहरूबाटै गराइएका छन् ।

सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेको बेला ज्यान गुमाएका थिए ।

यी बाहेक ग्यास स्टेशनमा काम गर्दा लुटेराको कुटाईबाट घाईते हुने, कुटाई खाने या लुटिनेहरूको संख्या ठुलै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com