राप्रपा केन्द्रीय सदस्यमा अमेरिकाबाट प्रेमकुमार श्रेष्ठ र लोक तिवारी नियुक्त


प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

एकीकरणपछि गतसाता निर्वाचन आयोगबाट वैधानिकताप्राप्त राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यहरुमा अमेरिकाबाट प्रेमकुमार श्रेष्ठ र लोक तिवारीलाई नियुक्त गरेको छ । एकीकरणपछि पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिंदै केन्द्रीय सदस्यहरु थप गरिएको हो ।

नेतृत्वले आफूप्रति विश्वास गरी सुम्पेको केन्द्रीय सदस्यको कार्यभारले अझ बढी देश र जनताप्रति जिम्मेबार बनाएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो -‘म सधै मन, वचन र कर्मले देश र जनताको हकहितका लागि पार्टीको नीति अनुरुप अनुशासित र प्रतिबद्ध रहनेछु । मलाई जिम्मेबारी दिनुहुने आदरणीय अध्यक्षज्यूप्रति कृतज्ञता ज्ञापन तथा सामाजिक सञ्जालमार्फत बधाई दिनुहुने सम्पूर्ण शुभेच्छुक ज्यूहरुमा आभार व्यक्त गर्दछु ।’

सत्तासिन पार्टीहरुले भ्रष्टाचार र राजनीतिक अकर्मण्यताका कारण जनताका पिर मर्का बुझ्न नसकेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी नै राष्ट्रको वैकल्पिक शक्तिको रुपमा रहेको निर्विवाद रहेको उहाँले बताउनुभयो ।

राप्रपाप्रति जनता आशावादी रहेपनि पटकपटक भएको पार्टी विभाजनले जनतामा केही निराशा छाएको तर जनभावना र पार्टीका कार्यकर्ताको भावना अनुरुप देशलाई निकाश दिन र आमूल परिवर्तन गर्नका लागि कटिवद्ध भई राप्रपा अहिले एकीकृत भइसकेको उहाँको भनाई छ ।

अमेरिकामा नेपाली काँग्रेसका तर्फबाट एकजना आमन्त्रित केन्द्रीय सदस्य रहेपनि राप्रपाबाहेक अन्य दलका तर्फबाट भने केन्द्रमा प्रतिनिधित्व गर्ने कुनै व्यक्ति छैनन् । अमेरिका निवासी प्रेमकुमार श्रेष्ठ तत्कालिन राप्रपा नेपालमा सहमहामन्त्री समेत रहेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com