कर्णाली विवाद : मुख्यमन्त्रीले गरे प्रमुख सचेतक शाहलाई बर्खास्त
प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । मुख्यमन्त्री शाहीले सोमबार एक पत्र लेख्दै शाहलाई कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको जानकारी गराएका छन्।
पत्रमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु ।’
यस्तै मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा सीता नेपालीलाई जिम्मेवारी दिएका छन् ।
सांसद यामलाल कँडेलको अगुवाइमा कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध आइतबार पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रमुख सचेतकले संसदीय दलको बैठकसमेत आह्वान गरेका थिए ।
आइतबार १८ सांसदले विद्रोह गरेपछि केन्द्रबाट मिलाउने प्रयास भइरहेको छ । सोमबार बिहानै मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले पनि छलफल गरेका थिए ।