नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण, २२ को मृत्यु
प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.३ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ६४९ छ भने होम आइशोलेसनमा १७ हजार ६६६ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६१३ छ ।
उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ४१६ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ४१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ११४५, ललितपुरमा १६१र भक्तपुरमा ११० जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा २ हजार ६७२ जनामा कोरोना पुष्टि भएको थियो ।
थप २२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।