२०२१ मा १५ हजारभन्दा धेरैलाई शरणार्थीका रुपमा स्वीकार नगर्ने ट्रम्प प्रशासनको घोषणा


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

अमेरिकाको ट्रम्प प्रशासनले आर्थिक बर्ष २०२१ मा अमेरिकाले १५ हजारभन्दा धेरैलाई शरणार्थीका रुपमा स्वीकार नगर्ने घोषणा गरेको छ । जुन अहिलेसम्मकै रेकर्डमा सबैभन्दा कम रहेको छ ।

नयाँ आर्थिक बर्षको सुरुवातमा बुधबार राती ट्रम्प प्रशासनले २०२१ म अमेरिकामा भित्राइने शरणार्थीको अधिकतम संख्या सार्वजनिक गरेको हो । अमेरिकी संसदका सम्बन्धित कमिटिहरुलाई यसबारे राती ११ बजेभन्दा अगाडि नै जानकारी दिइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्राउने शरणार्थीको संख्यामा हरेक बर्ष कटौती गर्दै आएका छन् । ओबामाले आफ्नो कार्यकालको अन्तिमबर्षमा शरणार्थीका लागि १ लाख १० हजारको सिमाबन्दी तोकेका थिए । तर ट्रम्पले आर्थिक बर्ष २०१८ का लागि यो संख्या घटाएर ४५ हजारमा झारेका थिए ।

त्यस्तै २०१९ मा अमेरिकाले स्वीकार गर्ने अधिकतम शरणार्थी संख्यामा ३० हजारको सिमाबन्दी लगाइएको थियो भने आर्थिक बर्ष २०२० का लागि १८ हजारको सिमाबन्दी लगाइएको थियो । यद्यपी ट्रम्पका विभिन्न खाले प्रतिबन्धका कारण आर्थिक बर्ष २०२० मा १८ हजार शरणार्थीहरु अमेरिका आउन भने पाएनन् ।

आर्थिक बर्ष २०२० मा अमेरिकाले झण्डै ११ हजारलाई मात्र शरणार्थीका रुपमा स्वीकार गरेको छ । गतबर्षको अन्त्यसम्ममा विश्वबाट झण्डै ३० मिलियन बालबालिकाहरुसहित झण्डै ८० मिलियन व्यक्ति विस्थापित भएका थिए ।

आगामी १२ महिनाका लागि विश्वभरबाट बढीमा १५ हजारका लागि अमेरिकामा स्थान सुरक्षित गरिने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । तर डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जितेको खण्डमा पहिलो बर्ष नै विश्वभरबाट १ लाख २५ हजार शरणार्थीहरु स्वीकार गर्ने बताएका छन् ।

अमेरिकी सरकारले जारी गरेको अर्को वक्तब्यमा आर्थिक बर्ष २०२१ मा अमेरिकी सरकारले २ लाख ९० हजार एसाइलमका आवेदनहरु प्राप्त हुने अपेक्षा गरेको छ । एसाइलम अमेरिकी सरकारले प्रदान गर्ने अर्को मानवीय संरक्षण हो । एसाइलमका लागि भने सरकारले संख्यामा कुनै सिमाबन्दी तोकेको छैन ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com