एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको मितिले ४ बर्षमा नागरिकता


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

एसाइलमबाट ग्रिनकार्ड पाएकाहरुले ग्रिनकार्ड स्वीकृत भएको मितिले ४ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने प्रावधान रहेको छ । अर्थात् उनीहरुले आई ४८५ आवेदन स्वीकृत भएको मितिले ३ बर्ष ९ महिनामा अमेरिकी नागरिकताका लागि आवेदन दिनसक्नेछन् ।

यसबारेमा आज खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई युएससीआईएसका प्रवक्ता क्याथरिन टिकचेकले थप स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन् -‘एसाइलीले स्थायी बासिन्दाको आवेदन आई ४८५ स्वीकृत भएको ४ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिनसक्छन् ।’

अमेरिकी नागरिकताका लागि अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड पाउनेहरु ग्रिनकार्ड स्वीकृत भएको मितिले ३ बर्षमा, एसाइलमबाट ग्रिनकार्ड पाउनेहरु ग्रिनकार्ड स्वीकृत भएको मितिले ४ बर्षमा र अन्य तरिकाले ग्रिनकार्ड पाउनेहरु ग्रिनकार्ड स्वीकृत भएको मितिले ५ बर्षमा अमेरिकी नागरिकताका लागि योग्य हुने भएपनि उनीहरुले ९० दिन अगाडि आवेदन दिन पाउँछन् ।

टिकचेकले भनेकी छिन् – ‘प्राविधिक रुपमा हेर्दा एसाइली र शरणार्थीहरुले अमेरिकामा स्थायी बासिन्दाका रुपमा प्रवेश स्वीकृत भएको ५ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छन् । तर एसाइलीहरु अमेरिकामा स्थायी बासिन्दाका रुपमा प्रवेश भएको मिति ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकृत भएको मितिभन्दा एकबर्ष अगाडिदेखि गणना हुन्छ ।’

यसरी गर्नुहोस् गणना

यदि तपाईले एसाइलमबाट ग्रिनकार्ड पाउनुभएको थियो भने तपाईले नागरिकताका लागि अवधिको गणना गर्दा ग्रिनकार्डमा उल्लेख भएको मिति नभई ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकृत भएको मितिले ३ बर्ष ९ महिना गणना गर्नुपर्छ । तर युएससीआईएस वा अदालतबाट एसाइलम स्वीकृत भएको मितिले ५ बर्ष गणना गर्ने होइन ।

उदाहरणका लागि यदि तपाईको एसाइलमबाट ग्रिनकार्ड आवेदन आई ४८५ सन् २०१६ को डिसेम्बर ३० अगाडि स्वीकृत भएको थियो भनेमात्र तपाईले अक्टोबर २ भन्दा अगाडि नागरिकताका लागि आवेदन दिन सक्नुहुनेछ । एसाइलमबाट प्राप्त भएको ग्रिनकार्डको जारी मिति युएससीआईएसले सामान्यतया आई ४८५ स्वीकृत भएको मिति भन्दा एकबर्ष अगाडिको राख्नेगर्छ । यदि एकबर्ष अगाडिको जारी मिति उल्लेख भएको खण्डमा त्यही मितिबाट ४ बर्ष ९ महिना गणना गरेर नागरिकता आवेदन दिनसकिन्छ ।

तर यदि जारी मिति एकबर्ष अगाडिको नराखेको खण्डमा पनि तपाईले नागरिकता आवेदन भने दिन सक्नुहुनेछ ।

अन्य आवेदनको शुल्क अक्टोबर २ पछि कति ?

आफन्तका लागि ग्रिनकार्ड आवेदन आई १३० फाइल गर्दा अहिलेसम्म ५३५ डलर शुल्क रहेकोमा नयाँ शुल्क अनलाइन फाइल गर्दा ५५० डलर र कागजी फाइल गर्दा ५६० तय गरिएको छ । ग्रिनकार्डको आवेदन आई ४८५ को शुल्क भने १० डलर कम गरेर ११३० तय गरिएको छ । गैरआप्रवासी भिसा थप वा स्टाटस परिवर्तनका लागि अहिलेसम्म ३७० डलर रहेकोमा नयाँ शुल्क अनलाइनबाट फाइल गर्दा ३९० र कागजी रुपमा फाइल गर्दा ४ सय तोकिएको छ ।

वर्क परमिटको शुल्क बढाइएको छैन तर बायोमेट्रिक शुल्क घटाइएको छ । बायोमेट्रिक शुल्क ८५ डलरबाट घटाएर ५५ डलर बनाइएको छ तर डाकाका लागि बायोमेट्रिक शुल्क ८५ डलर नै यथावत राखिएको छ । आई१४० आवेदनको शुल्क पनि घटाइएको छ । अहिले यो शुल्क ७ सय डलर रहेको छ तर नयाँ शुल्कमा २४५ डलर घटाएर ५५५ डलर कायम गरिएको छ ।

यसअगाडि एसाइलम आवेदन आई ५८९ फाइल गर्न निशुल्क रहेकोमा नयाँ नियम अनुशार ५० डलर शुल्क तोकिएको छ । अन्तिम नियममा अनलाइन आवेदन दिनका लागि प्रोत्साहन गरिएको छ । अनलाइन आवेदन दिनेहरुका लागि शुल्क समेत कागजी आवेदनका तुलनामा कम गरिएको छ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com