२० भन्दा बढी मुलुकमा रहेका नेपाली किशोरकिशोरीले साटे कोरोना कहरको अनुभव


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाइरस) का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।

गैह्रआवासीय नेपाली संघ अन्तर्गत अन्तराष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनीहरुले आफ्नोे अनुभव साटासाट गरेका हुन् ।

दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा आयोजित ‘टिनएजर प्रेस्पेक्टिभ अन पेन्डामिक’ विषयक भर्चुअल कार्यक्रममा २० भन्दा बढी मुलुकबाट १२ देखि २० वर्षसम्मका किरोशकिशोरीहरुले सहभागिता जनाएका थिए । सहभागिहरुले कोरोना कहरमा आफू र आफ्नो परिवारले भोगेका तथा देखेका अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा नेपाललगायत नाइजेरिया, क्यानडा, साउदी, अमेरिका, बहराइन, कतार, चीन, लगायत मुलुकमा रहेका किशोरकिशोरीहरुको उपस्थिति थियो । कार्यक्रममा रोबिना पौडेल, अभिलासा खतिवडा, प्रसान्त गौडेल, विक्रम केसी, अस्वीनी सिग्देल, जिया हमाल, सुहिम थापा लगायतले कोरोना कहरको अनुभव सुनाए ।

अधिकांशले कोरोना कहरको सुरुवातमा विद्यालय जान नपरेकोमा आफूहरु खुसी भएको तर लामो समयसम्म घरबाहिर निश्किन तथा सामान्य अबस्थामा जस्तै साथीहरुलाई भेट्न नपाएकोमा गुनासो गरेका थिए ।

कतिपयले यो समयमा विद्यालय जान नपर्ने हुँदा अनलाईन कक्षामार्फत अध्ययन गर्ने र बाँकी समयमा आमबुबालाई सघाउने बताएका थिए । केही कोशोरकिशोरीहरुले कोरोनाको कहरको समयलाई सदुपयोग गर्दै आफ्नो रुचिअनुसारको खेलकुद तथा अन्य क्रियाकलापमा सहभागी भएको उल्लेख गरेका थिए ।

कार्यक्रममार्फत किशोराकिशोरीले कोरोना महामारीका सम्बन्धमा जिज्ञासा समेत व्यक्त गरे । जिज्ञासाको जबाफ एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाले दिनुभयो ।

डा. सापकोटाले कोरोनासँग नडराइ सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य सुरक्षाका विषयमा ध्यान दिन नसके कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उहाँले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com