रातो मच्छिन्द्रनाथको जात्रा शुरु

रातो मच्छिन्द्रनाथको जात्रा शुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट आइतबार अर्थात १७ गते बाट तान्न सुरु गरिने छ |

हिजो राती रातो मछिन्द्रनाथलाई पुल्चोक रथमा पुर्याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको हो । रथ तान्ने पर्वभरी होम र गाईदान गर्ने गरिन्छ

रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

रथ तान्ने शुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ । रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्‍याउने चलन छ । त्यसै अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्‍याइनेछ ।

पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ ।

जनश्रुतिअनुसार लिच्छविकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो । गुरु गोरक्षनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए । यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो ।

त्यसपछि राजा, बन्धुदत्त आचार्य र रथचक्र -ललित ज्यापु)ले धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याए । ऐतिहासिक भनाइअनुसार कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो ।

जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि घनघोर वर्षा भयो । रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो ।

लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।

संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।

काठ र बेतको कुशल संयोजनबाट रथ मजवुत हुने बताउने कालिगढ का अनुसार पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा अग्लो हुने रथ आधा ढल्कदा समेत पल्टिदैन । निकै अग्लो र सन्तुलित ढंगले निर्माण हुने रातो मच्छिन्द्रनाथको रथ विश्वको उत्कृष्ट कालीगढी नमुनामा पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com