आसारामको हतकडी कथा !
प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार

एक सेप्टेम्बर २०१३ बिहान ११ बजेको थियो । सबैको आँखा जोधपुरमा थिए । एयरपोर्टमा मिडिया र व्यक्तिहरूको भेला थियो । पुलिसको ठूलो टिम निगरानीको लागि तैनाथ गरिएको थियो । यसैबीच दिल्लीबाट हवाई जहाज एयरपोर्टमा उत्रियो ।
त्यही हवाई जहाजमा नाबालिकाहरुलाई बलात्कारको आरोपित तथा आफूलाई आध्यात्मिकवादका गुरु मान्ने आसाराम थिए । जोधपुरको विशेष टोलीले आसारामलाई पक्राउ गर्यो ।
राज्यका मुख्यमंत्री अशोक गहलोत पनि जोधपुर आउँदै थिए, त्यसैले शहरमा पुलिसको कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
आसारामलाई एयरपोर्टबाट अनुसन्धान केन्द्रमा लगिएको थियो । पुलिसले कसरी अनुसन्धान गर्दैछ भन्ने आसारामलाई केही थाहा थिएन । साँझको पाँच बज्दै थियो ।
जोधपुरका डीसीपी आसारामलाई कोठामा लैजानु अघि कोठामा पुगेका थिए । पश्चिम राजस्थानका प्रहरी उपनिरीक्षक अमित सिहागले आसारामलाई भने, ‘बाबा, सोफामा किन बसेको ? भूइँमा बस ।’
आरोपित आसारामलाई प्रहरीको पहिलो बचनले आभास भैसकेको थियो कि, यहाँ कुनै छुट पाउने आशा छैन ।
भूइँमा बस्ने बित्तिकै आसारामको आँखाबाट आँसु झर्न थाल्यो – ‘यस्तो नगर्नुहोस्, डीसीपी साब !’
उनको कुरा पुरा हुन नपाउँदै डीसीपीले भने -‘बाबा,तपाईले यस्तो काम कसरी गर्नु भयो ? ‘
जवाफमा आसारामले भने -‘मैले ठूलो गल्ती गरें ! गल्ती…….!’
आसारामको अगाडि सोफामा डीसीपी बसिरहेका थिए भने उनी भूइँमा !
यो त्योबेला जोधपुर पूर्वमा कार्यरत आईपीएस अजयपाल लाम्बा थिए । यो अजयपाल लाम्बाको किताबका अंश हो । यस्ता धेरै घटनाहरू लाम्बाको यस पुस्तकमा उल्लेख गरिएका छन । यो कथा पनि यसै पुस्तकमा आधारित छ ।
२०१३ सेप्टेम्बर २ मा आसारामलाई हिरासतमा पठाईएको थियो । अजयपाल लाम्बाको पुस्तकमा उल्लेख गरिएको छ – ‘ त्योबेलादेखि जोधपुर पुलिसलाई ज्यान मार्ने धम्की सहितका निरन्तर फोन र पैसाको लोभ देखाउनेहरुको बाढीनै आएको थियो । यसैबीच आसारामका समर्थकहरू एक दिन लाम्बाकै कार्यकक्षमा पुगेका थिए ।’

पैसाको प्रलोभन
आसारामका समर्थकहरु लाम्बालाई भन्छन्, ‘तपाईले कल्पना गर्नै नसक्ने पैसा दिन्छौं । तर बलात्कारको केसमा बापूलाई गिरफ्तार नगर्नुहोस ।’
लाम्बाकी श्रीमतीले आसारामका समर्थहरुबाट बारम्बार ज्यानलिने धम्की आएपछि छोरीलाई स्कूल पठाउनै छोडिन् ।
अजय लाम्बा भन्छन -‘उनीहरुले मेरो आमाबुबालाई समेत धम्काउना छोडेन्न ।’
नोभेम्बर २०१३ मा आसारामकाबिरुद्ध मुद्धा दर्ता भएपछि उनको गिरफ्तारीमा खटिएका प्रहरी र खासगरी आईपीएस अजय लाम्बालाई बारम्बार ज्यान मार्ने धम्की आईनै रह्यो ।
अजय भन्छन् – ‘मलाई राजनीतिज्ञ, सरकारी कर्मचारी, पुलिस विभागका केही अधिकारी र आफ्न्तहरुबाट पनि आसारामको मुद्धामापछि हट्न दबाब दिएका थिए ।’
आसारामका समर्थकहरूले अनुसन्धान अधिकारी चञ्चल मिश्रलाई पनि अदालतमासम्म बारम्बार पछ्याईरहेका थिए । मिश्रालाई मार्ने ठूलो षडयन्त्र भएको थियो, जुन कुरा समयमै बाहिर आयो । त्यसैले उनलाई थप सुरक्षाको ब्यावस्था गरियो ।
घटनाको अनुसन्धानमा संलग्न एक अर्का सइ सत्य प्रकाशलाई राजस्थानमा रहेको आसारामको करोडौंको सम्पत्ति दिने प्रलोभन समेत उनका आसेपासेबाट आएको थियो ।
यी सबै कुरा भएको सात वर्ष बितिसक्यो । दुई वर्षअघि आसाराम बापूलाई दोषी ठहरगरी काराबास पठाइएको छ । तर पनि अहिलेसम्म अनुसन्धानमा खाटिएका अधिकारीहरुलाई प्रहरीले सुरक्षा दिईरहेको छ ।
पत्रकार सम्मेलनबाट गिरफ्तारी सहज
प्रहरी टोली जोधपुरबाट डीसीपी सतीशचन्द्र जांगिड़को नेतृत्वमा अगस्त ३० गते २०१३ मा इन्दोरको लागि प्रस्थान गर्यो ।
जोधपुरको प्रहरी टोली इन्दोरको लागि प्रस्थान गरेको थियो भने साँझ छ बजे डीसीपी अजयपाल लाम्बाले पत्रकार सम्मेलनको आयोजना गरे ।
लाम्बाले पत्रकार सम्मेलनमा भने – ‘हामीले आसारामलाई पक्राउ गर्दैछौँ । प्रहरीको एउटा टोली पक्राउको लागि पठाईसकेका छौँ । हामीलाई थाहा छ उनी कहाँ छन् । हाम्रो टिम छिटै पुगेर पक्राउ गर्नेछ ।’
लाम्बा भन्छन् – ‘त्योदिन हामीसँग आसाराम कहाँ छन् भन्ने भर्रपर्दो जानकारी नै थिएन, हामीले अध्यारोमा तिर चलाएका मात्र थियौँ ।’
तर पुलिसको यो योजनाले काम गर्यो । आसाराम प्रहरीबाट लुक्नका लागि भोपाल एयरपोर्ट पुगे । जुन कुरा प्रहरीलाई थाहा त भयो तर छोटो समयमा इन्दोरबाट भोपाल पुग्न सम्भव थिएन ।
त्यसपछि प्रहरीले अर्को जाल फ्याक्यो । ‘आसाराम अहिले भोपाल एयरपोर्टमा रहेको’ भन्दै मिडियालाई जानकारी दियो । त्यसपछि भोपाल एयरपोर्टमा मिडियाकर्मीहरुको ठूलो जमघट भयो ।
मिडिया र प्रहरीबाट लुक्ने मनसायले आसाराम इन्दोरमा रहेको आफ्नो आश्रममा जान हिडे । तर एयरपोर्टमा भइरहेको सबै घटनाक्रमको बारे पुलिसले टिभी च्यानलहरूमार्फत जानकारी लिईरहेको थियो ।
आसाराम आफै प्रहरीले बिछ्याएको जालमा फस्दै गईरहेका थिए । इन्दोरमा उनलाई पक्राउ गर्नको लागि प्रहरी टोली तैनाथ गरिएको बारेमा आसाराम अनविज्ञ थिए ।
रातीको ९ बजे आसारामको इन्दोर आश्रमको मुख्य गेटमा उनका हजारौं समर्थकहरूले नाराबाजी गरिरहेका थिए । त्यसमा पनि पुरुषहरुभन्दा महिलाको संख्या धेरै थियो । मिडियाकर्मीहरु र प्रहरीको संख्या पनि उत्तिकै थियो ।
आश्रममा आसाराम, उनका छोरा नारायण साई, छोरी र निकै नजिकका भक्तहरूसँगै थिए । पुलिसले नारायण साईलाई भन्यो, एउटा मुद्दामा आसारामसँग सोधपुछ गर्नु छ । धेरै प्रयास पछि रातको ११ बजे प्रहरी आसारामसम्म पुग्न सफल भयो ।
अजय लाम्बाको पुस्तकबाट
प्रहरीलाई देख्न वित्तिकै आसारामले भने ‘तँलाई थाहा छ म को हुँ ? तँलाई थाहा छ, देशमा मेरा कति भक्तहरू छन ? तँलाई थाहा छ कति राजनीति नेताहरु मेरो हातमा छन् । तिमीहरु को हौ ? मेरै आश्रममा आएर,मलाई नै अनावश्यक कुरा सोध्ने ?तिमीहरुको हैसियत के छ,मलाई बताउ त ?’ आसारामले प्रश्न गरिरहे ।
आसाराम र प्रहरीबीच पहिलो पटक भेट भएको थियो । प्रहरीसँग उनले लामो बहस गरे । आसारामले प्रहरीको अगाडि नाटक सुरुगर्दै भने – ‘मलाई सञ्चो छैन, भोलि बिहान जान्छु ।’
कुरागर्दै जाँदा उनले बेलाबेला प्रहरीलाई आफ्नो पावर कति छ भन्ने ध्वाँस देखाउन छोडेनन् । आसाराम दैनिक नित्यकर्मको लागि आफै हिँडेर आफ्नो कोठामा गए र छोरा नारायणसँग आफ्ना समर्थकहरूलाई बोलाउन लगाए ।
त्यसपछि जोधपुरका डीसीपी अजयपाल लाम्बाले पनि बिहानको सट्टा रातीनै आसारामलाई गिरफ्तार गर्न निर्देशन दिए ।
करिब रातको १२ बजेतिर राजस्थान प्रहरी टोलीका अतिरिक्त डीसीपी सतीश चन्द्रजंगिडले आसारामलाई बोलाउँदै भने, ‘बाबा, तपाई भोली बिहान होइन, अहिलेनै हामीसँग जानु पर्ने भयो । भोली बिहान ढिलो हुन्छ ।’
फिल्मी शैलीमा आसारामको गिरफ्तारी
प्रहरीले राती नै आसारामलाई गिरफ्तार गरेर बाहिर रहेको आफ्नो गाडीमा राख्यो ।
आसारामले पक्राउ पर्ने क्रममा छोरा र आफ्ना भक्तहरूलाई बोलाउँदै भनेका थिए – ‘अरे अरे, यो के गरेको तिमीहरुले ? यिनीहरुलाई रोक । भक्तहरू लौ हेर यिनीहरुले तिम्रो बाबालाई समातेर लैजाँदैछन् , सबैले यिनीहरुलाई रोक !’
राजस्थानको प्रहरी टोली स्थानीय प्रहरीले बताए अनुसारको बाटो हुँदै आसारामलाई लिएर आश्रमबाट बाहिरियो । गेट बाहिर भेला भएका उनका समर्थहरुले प्रहरीको गाडी रोक्ने कोशिश गरेँ । तर, प्रहरी अगाडि बढ्यो । भिडबाट कैँयौँले भने यिनीहरुलाई कुनै पनि हातमा एयरपोर्टसम्म पुग्न दिनु हुँदैन ।
तर,इन्दोर प्रहरीको सहयोगमा आसारामलाई लिएर जोधपुरको प्रहरीटोली एयरपोर्ट पुग्यो । जहाजमा रहेका उनका समर्थकहरूलाई प्रहरीले भ्रममा पार्दै, आसारामलाई इन्दोरबाट दिल्ली र दिल्लीबाट सेप्टेम्बर १ गते बिहान ११ बजे जोधपुर पुर्यायो ।
राती करिब १२ः३० बजेतिर जब आश्रमबाट आसारामलाई इन्दोर एयरपोर्ट लैजाँदै थियौँ,त्योबेला उनले आफ्नो गल्ती कबुल्दै भनेका थिए – ‘मैले गल्ती गरेँ, म उनीसँग भेट्नु हुँदैनथ्यो । उनी म भन्दा निकै कान्छी थिईन् ।’
यो घटना भएको ठ्याक्कै सात बर्ष बितिसक्यो । लामो अनुसन्धान, घटनाका केही साक्षीहरूको हत्या र पुलिस अधिकारीहरुलाई आएको धम्कीपछि आसाराम अपराधी हुन् भन्ने प्रमाणित भएपछि अहिले उनी जेलमा सजाय काटिरहेका छन् ।
प्रकाशित अजय लाम्बाको पुस्तकले फेरि एक पटक भारतको बहु चर्चित घटनाका बारेमा सर्वसाधारण जनतामाझ आसारामका काला कर्तुतका बारेमा बाहिर ल्याएको छ । तर, पीडित परिवारले भने अझैसम्म आफूलाई सम्हाल्न सकेका छैनन् ।
पीडितका बुबाले भने – ‘हामीले हाम्रो मुटुको टुक्रालाई पढ्नका लागि गुरुकुल पठाएका थियौं । तर, त्यो दुष्टले यस्तो गर्ला भन्ने कल्पना समेत गरेका थिएनौँ । हामी धेरै दुःखी छौँ । तर, यसैमा चित्त बुझाएका छौँ कि अपराधी अहिले जेलमा बन्द छ ।’