न्युयोर्कबाट कार्यवाहक महावाणिज्यदूत पुष्प भट्टराई कार्यकाल सकेर आज फर्कदै


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

नेपाली समुदायमाझ लोकप्रिय नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्प भट्टराई आफ्नो ४ बर्षे कार्यकाल सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । आज बेलुका कतार एवरवेजमार्फत उहाँ स्वदेश फर्कन लाग्नुभएको नेपाली महावाणिज्यदूतावास न्युयोर्कले जानकारी दिएको छ ।

न्युयोर्कमा उहाँको कार्यकाल सन् २०१६ को जुन १ बाट सुरु भएको हो । गत मे ३१ मा नै उहाँको कार्यकाल समाप्त भएपनि कोरोनाको महामारीका कारण उहाँ फर्कन सक्नुभएको थिएन । उहाँले आफ्नो कार्यकालभर साथ र सहयोगका लागि अमेरिकामा रहेको नेपाली समुदायलाई धन्यवाद दिनुभएको छ ।

नयाँ स्थानमा महावाणिज्यदूतावासको संचालनदेखि नेपाली समुदायसँगको सम्बन्ध विस्तारमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

महावाणिज्यदूतावासको नियमित कामकाजको अलावा नेपाली समुदायसँगको सुमधुर सम्बन्ध निर्माण, नेपालको पर्यटन प्रवद्र्धन लगायतका काममा पनि भट्टराईले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपालबाट चोरिएर न्युयोर्क आएका मूर्तिहरु फर्काउन समेत  उहाँकै कार्यकालमा तत्कालिन महावाणिज्यदूत मधु मरासिनीको नेतृत्वमा सफलता मिलेको थियो ।

८ बर्ष अगाडि उपसचिवमा नियुक्त हुनुभएका भट्टराईले न्युयोर्क आउनुअगाडि जेनेभामा ४ बर्ष, साउदी अरबमा ३ बर्ष, कुवेतमा ३ बर्ष काम गर्नुभएको थियो । उहाँ २०५२ सालमा परराष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो ।

अब उहाँको स्थानमा उपसचिव इन्दिरा अर्याल आउने सम्भावना रहेको जनाइएको छ । तर उहाँले कहिलेदेखि कार्यभार सम्हाल्नेभन्नेबारे केही बताइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com