नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४९ जना महिला र जना ६९२ पुरुष गरी १ हजार ४१ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६० प्रतिशत संक्रमित निको भएका छन् ।
उपत्यकामा थप ४०८ जनामा संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३२६ जना, ललितपुरका ३७ जना र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
थप ९ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।





