नेपालमा डिसेम्बरसम्म कोरोना संक्रमणको अवस्था कस्तो ? (अमेरिकी विश्वविद्यालयको प्रक्षेपण)


प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार

अमेरिकाको वाशिंटन युनिभर्सिटीको स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानले आगामी जनवरी १ सम्म विश्वभर कोरोना भाइरस संक्रमणको अवस्था कस्तो हुनेछ भन्ने सन्दर्भमा एक प्रक्षेपण गरेको छ । त्यसमा नेपालको अवस्थालाई समेत समेटिएको छ ।

अहिलेकै अवस्था कायम रहेमा जनवरीको १ सम्म नेपालमा १२ हजार ७ सय ६३ जनाको ज्यान जाने उक्त प्रक्षेपणमा उल्लेख छ । अगस्त ३१ सम्म नेपालमा २२२ जनाको ज्यान गइसकेको र अक्टोबर २२ सम्म यो संख्या १ हजार ७ पुग्ने स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानको प्रक्षेपण रहेको छ ।

खासगरी नोभेम्बरको अन्त्यतिरबाट मृत्युदर ह्वात्तै बढ्ने अनुमान गरिएको छ । नोभेम्बर ३० सम्म ३२ सय ७५ जनाको ज्यान जाने र डिसेम्बरभरमा ९ हजारभन्दा धेरैको ज्यान जाने उक्त प्रक्षेपणमा जनाइएको छ ।

मास्कको प्रयोग गरेको खण्डमा भने जनवरीको १ सम्ममा नेपालमा जम्मा ४ हजार १० जनाको ज्यान जाने र झण्डै ९ हजारको ज्यान बचाउन सकिने प्रक्षेपण गरिएको छ । तर अहिले पालना गरिएका मापदण्डहरु अझ खुकुलो बनाइएमा र मास्कको प्रयोग नगरिएको खण्डमा भने जनवरी १ सम्म नेपालमा कोरोना संक्रमणबाट १३ हजार २ सय ४१ जनाको ज्यान जाने अनुमान गरिएको छ ।

अगस्त ३१ सम्मको अवस्था हेर्दा औषतमा नेपालमा दैनिक १० जनासम्मको ज्यान जाने गरेकोमा डिसेम्बर २७ मा एकैदिन ४५० जनासम्मको ज्यान जानसक्ने प्रक्षेपण गरिएको छ । नोभेम्बर १२ सम्म पुग्दा दैनिक मृत्यु हुनेको संख्या ५० सम्म पुग्ने अनुमान गरिएको छ । तर मास्क लगाउने र सामाजिक दुरी कायम गरेको खण्डमा दैनिक मृत्युदर १६५ भन्दा बढी ननाघ्ने अनुमान गरिएको छ । अहिलेकै मापदण्ड समेत पालना नगरिएको खण्डमा भने जनवरी १ सम्म मृत्युदर हरेक दिन ५ सय सम्म पुग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानको तथ्यांकमा अहिले दैनिक संक्रमण पुष्टी हुनेको संख्या १ हजारको हाराहारीमा रहेको जनाइएको छ । तर दैनिक संक्रमित हुनेको संख्या अहिले झण्डै ८ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

यो संख्या डिसेम्बर १२ सम्ममा अधिकतम ३ लाख पुग्ने अनुमान गरिएको छ । अर्थात् उक्त दिन दैनिक ३ लाख संक्रमित हुने प्रक्षेपण गरिएको छ । तर मास्क लगाएको खण्डमा दैनिक संक्रमित हुनेको संख्या २ लाख २३ हजार भन्दा बढी ननाघ्ने अनुमान गरिएको छ । अहिलेका मास्क र सामाजिक दुरीमा मापदण्डहरु समेत पालना गर्न छोडेमा भने दैनिक संक्रमण ३ लाख ३५ हजारसम्म पुग्ने अनुमान गरिएको छ ।

अहिले झण्डै ११ हजारको हाराहारीमा नेपालमा कोरोना संक्रमितको परीक्षण गरिएको उक्त तथ्यांकमा उल्लेख छ । अहिलेसम्म नेपालमा १ हजार १२ बेडहरु उपलब्ध रहेको तथ्यांकमा उल्लेख छ । तर डिसेम्बर २९ सम्म थप ३८ हजार बेड आवश्यक पर्ने अनुमान गरिएको छ ।

त्यस्तै अहिले ११५ मात्र आईसीयु बेडहरु उपलब्ध रहेकोमा डिसेम्बरको अन्त्यसम्ममा साढे ७ हजार आईसीयु बेड आवश्यक पर्ने स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानले प्रक्षेपण गरेको छ । त्यस्तै डिसेम्बरको अन्त्यसम्ममा ६ हजार बढी भेन्टिलेटरको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

अहिले नेपालमा झण्डै ६१ प्रतिशतलेमात्र मास्कको प्रयोग गरेको पाइएको छ । भारतमा भने ७२ प्रतिशतले मास्कको प्रयोग गरेको तथ्यांकमा उल्लेख छ । विश्वब्यापी रुपमा मास्कको प्रयोग ९५ प्रतिशत बनाउने लक्ष्य रहेपनि झण्डै ३९ प्रतिशत नेपालीहरुले मास्कको प्रयोग नगरेको पाइएको छ ।

अफगानिस्तान, पाकिस्तान र बंगालादेशको तुलनामा नेपालीहरुले बढी मास्क प्रयोग गरिरहेका छन् तर भारत, मालदिभ्स र श्रृलंकाको तुलनामा भने कमले मास्क प्रयोग गरिरहेका छन् ।

नेपालबारेको हरेक दिनको सम्पूर्ण विवरण र प्रक्षेपण यहाँ पढ्नसक्नुहुनेछ ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या यो बर्षको अन्त्यसम्ममा ४ लाख १० हजार पुग्नसक्ने युनिभर्सिटी अफ वाशिंटनको महामारी मोडलको अनुमान

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com