नियम पालना गरे डिसेम्बरसम्म विश्वभर झण्डै ८ लाखको ज्यान बच्ने अनुमान
प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या यो बर्षको अन्त्यसम्ममा ४ लाख १० हजार पुग्नसक्ने युनिभर्सिटी अफ वाशिंटनको महामारी मोडलले अनुमान गरेको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ८३ हजारको मृत्यु भइसकेको छ ।
चिसो मौसम र सामाजिक दुरी कायम गर्नमा हुने हेलचेक्र्याईंले अमेरिकामा महामारीका कारण ४ लाख बढीको ज्यान जाने अनुमान गरिएको छ । वाशिंटन युनिभर्सिटीको स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानले कोरोना संक्रमणबाट विश्वभर अझै १९ लाखको ज्यान जाने अनुमान गरेको छ । अर्थात् डिसेम्बरको अन्त्यसम्म कुल २८ लाखको ज्यान जाने अनुमान गरिएको छ ।
मास्कको प्रयोग, सामाजिक दुरी कायम र जमघटहरुमा कमी गरेको खण्डमा राम्रो अवस्थामा समेत विश्वभर कुल २० लाखको ज्यान जाने अनुमान गरिएको छ । समुदाय र व्यक्तिले कुनै पनि सावधानी नपनाएको खण्डमा, सामाजिक दुरी तथा मास्कको नियम पालना नगरेर आउने खराब अवस्थामा विश्वभर कुल ४० लाखको ज्यान जाने अनुमान गरिएको छ ।

नयाँ अनुमानको पूर्ण विवरण यहाँ हेर्नुहोला ।
प्रतिष्ठानले गरेको अनुमान अनुशार अवस्था एकदमै राम्रो भएपनि अमेरिकामा डिसेम्बरको अन्त्यसम्म अमेरिकामामात्र २ लाख ८८ हजारको ज्यान जानेछ भने अत्यन्तै खराब अवस्था भएमा अमेरिकामा ६ लाख २० हजारसम्मको ज्यान जानेछ । सरकारको नीति र मान्छेको व्यवहारमा यो कुरा भर पर्ने जनाइएको छ ।
मास्कको प्रयोग, सामाजिक दुरी कायम र जमघटहरुमा कमी गरेको खण्डमा अमेरिकामा ३ लाख भन्दा बढीको ज्यान जोगाउन सकिने अनुमान गरिएको छ । तर समुदाय र व्यक्तिले कुनै पनि सावधानी नपनाएको खण्डमा, सामाजिक दुरी तथा मास्कको नियम पालना नगरेको खण्डमा सबैभन्दा खराब अवस्था आएमा अमेरिकामा ६ लाख २० हजारको ज्यान जाने अनुमान गरिएको हो ।
सामाजिक दुरी कायम गरेको खण्डमा र मास्क लगाएको खण्डमा भने यो बर्षको अन्त्यसम्ममा विश्वभर ७ लाख ७० हजारको ज्यान बचाउन सकिने वाशिंटन युनिभर्सिटीको स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानले अनुमान गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर झण्डै ९ लाख १० हजारको मृत्यु भइसकेको प्रतिष्ठानको भनाई छ । विश्व स्वास्थ्य संगठनले भने अहिलेसम्म ८ लाख ६५ हजार भन्दा धेरैको मृत्यु भएको जनाएको छ ।






