जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिन मुसामा सफल
प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार
जोन्सन एण्ड जोन्सनको सम्भावित कोरोनाबिरुद्धको भ्याक्सिन मुसामा सफल भएको भ्याक्सिन कम्पनीले जनाएको छ । सिरियाका सुनौला मुसामा गरिएको परीक्षणमा सिकिस्त बिरामीपनलाई रोक्न सफल भएको बिहिबार कम्पनीले जनाएको छ ।
शोधकर्ताहरुले ह्याम्प्सटरमा भ्याक्सिनको एउटा डोजमात्र दिएका थिए त्यसपछि मुसालाई ४ हप्तापछि कोरोना भाइरसको संसर्गमा ल्याइएको थियो । भ्याक्सिन लगाइएको मुसामा एन्टीबडीहरु निर्मलीकरण भएको र प्रतिरोधात्मक क्षमता विकाश भएको शोधकर्ताहरुले विश्वास गरेका छन् ।
भ्याक्सिन दिइएको मुसाले आफ्नो तौल गुमाएको तर निमोनिया हुने वा मृत्यु हुने खालको बिरामी भने नभएको जनाइएको छ । मुसामा गरिएको परीक्षणको नतिजा बिहिबार मेडिकल जर्नल नेचर मेडिसिनमा प्रकाशित छ ।

क्लीनिकल परीक्षण अगाडिको यो परीक्षणबाट कोरोनाबिरुद्धको भ्याक्सिन निर्माणका लागि आफूहरुको विश्वास अझ बढेको कम्पनीले जनाएको छ । तर मुसामा देखिएको दुरुस्तै नतिजा मान्छेमा पनि देखिनेमा भने अहिले नै ग्यारेन्टी भने गर्न नसकिने जनाइएको छ ।
जोन्सन एण्ड जोन्सनले यसै महिनाको अन्त्यतिर ६० हजार व्यक्तिमा बृहत क्लीनिकल परीक्षण सुरु गर्ने अपेक्षा गरिएको छ । अमेरिकाले १ बिलियन डलरमा एकसय मिलियन डोज भ्याक्सिन जोन्सन एण्ड जोन्सनसँग किन्ने सहमति जनाइसकेको छ । यो सहमति अनुशार अमेरिकालाई अरु २ सय मिलियन डोज किन्न समेत बाटो खुल्नेछ ।
अमेरिकामा मोडेर्ना र फाइजरले जुलाईको अन्तिसातादेखि तेश्रो चरणको क्लीनिकल परीक्षण सुरु गरिसकेका छन् । बेलायतको आष्ट्राजेनेका भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षणपनि बुधबारदेखि अमेरिकामा सुरु भएको छ ।






