बेलायती भ्याक्सिनको बृहत परीक्षण बुधबारबाट अमेरिकामा, पहिलो भ्याक्सिन चिकित्सकलाई
प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार
अक्सफोर्डको कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनको तेश्रो चरणको बृहत परीक्षण बुधबारबाट अमेरिकामा सुरु गरिने भएको छ । सुरुमा विसकन्सिनको मेडिसनमा रहेका स्वयंसेवकहरुलाई भ्याक्सिन दिइने भएको छ ।
आष्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड युनिभर्सिटीसँगको सहकार्यमा बनाएको भ्याक्सिन अमेरिकाका दर्जनौं साइटहरुमा परीक्षण गरिने भएको छ, त्यसमध्ये विसकन्सिन युनिभर्सिटी एउटा हो । मोडेर्ना र फाइजरपछि अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो चरणको परीक्षण आष्ट्राजेनेकाले सुरु गर्न लागेको हो । यद्यपी मोडेर्ना र फाइजर अमेरिकन कम्पनी हुन् भने आष्ट्राजेनेका बेलायती कम्पनी हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको चुनाव अगाडि नै भ्याक्सिन ल्याउनका लागि दवाव दिइरहेको बखत आष्ट्राजेनेकाले तेश्रो चरणको बृहत परीक्षण अमेरिकामा सुरु गर्न लागेको हो । तर यो भ्याक्सिनको प्राथमिकत तथ्यांक नोभेम्बरको अन्तिमसाताभन्दा अगाडि नआउने अपेक्षा गरिएको छ ।

बुधबार आष्ट्राजेनेकाको पहिलो भ्याक्सिन विसकन्सिन युनिभर्सिटीका प्रमुख क्वालिटी अफिसर तथा आपतकालिन औषधी चिकित्सक डाक्टर जेफ पाथोफलाई दिइने भएको छ । आफू समस्याको समाधानको हिस्सा हुन चाहेकाले परीक्षणका लागि स्वीकृति दिएको उनले बताएका छन् । आगामी ८ सातासम्म हरेक साता २५० का दरले उक्त भ्याक्सिन दिइने भएको छ ।
परीक्षणका क्रममा झण्डै दुईतिहाईलाई एकमहिनाको अन्तरालमा दुईडोज पूर्ण भ्याक्सिन दिइने भएको छ । बाँकीमा भने परीक्षणमात्र गरिनेछ । भ्याक्सिन दिइसकेपछि एन्टीबडी उत्पादन गर्न झण्डै एकमहिनालाग्ने जनाइएको छ ।
अक्सोफोर्डको भ्याक्सिनमा एडेनो भाइरस नामको चर्चित भाइरसको प्रयोग गरिएको छ, जुन भाइरसका कारण सामान्य रुघाखोकी लाग्ने गर्छ । यसलाई जेनेटिकल्ली परिवर्तन गरिएकाले यसले मान्छेलाई बिरामी नबनाउने जनाइएको छ । यसले मान्छेको इम्युन सिस्टमलाई कोरानाभाइरसबिरुद्ध कसरी एन्टीबडी बनाउने भन्ने सिकाउँछ ।
अमेरिकामा मोडेर्ना र फाइजरले जुलाईको अन्तिम सातादेखि नै तीसतीस हजारमा परीक्षण सुरु गरिसकेका छन् । जोन्सन एण्ड जोन्सनले ६० हजारमा भ्याक्सिनको परीक्षण गर्ने योजना बनाएको छ । आष्ट्राजेनेकाले भने विविध प्रकारका, भिन्न भिन्न क्षेत्रका, भिन्न भिन्न जातीका मान्छेहरुमा परीक्षण गर्ने जनाएको छ ।






