कोरोना भाइरस : किन कसैलाई लक्षण पनि देखिदैन ? तर कोही सिकिस्तै हुन्छन् ?
विश्वमा कोरोना भाइरसबाट झण्डै साढे ८ लाखको मृत्यु भइसकेको छ । तर यसबारे कैयन व्यक्तिमा अझै पनि अन्यौल कायमै छ । त्यसको कारण हो, कोरोना संक्रमित कोही व्यक्तिमा लक्षण समेत नदेखिने तर कोही व्यक्ति भने सिकिस्तै भएर ज्यानै समेत जाने । कोही पनि सामान्य लक्षण देखिएर घरमै निको हुनेसमेत अवस्था छ ।
लक्षण समेत नदेखिने अवस्थाको मूल्यांकन गरेर कतिपयले कोरोना भाइरस सामान्य रुघाखोकी जस्तो भएको बताउँछन् । ज्यानै समेत जाने अवस्थाको मूल्यांकन गरेर कतिपयले कोरोना भाइरस असाध्यै जटिल र डरलाग्दो भएको बताउँछन् । कतिपयले सामान्य लक्षण देखिएर घरमै निको हुने अवस्थाको मूल्यांकन गरेर कोरोना भाइरस न त डरलाग्दो न त सामान्य नै रहेको बताउँछन् ।
न्युयोर्क युनिभर्सिटी ल्यांगवन अस्पताल बु्रकलिनका पल्मोनोलोजिस्ट तथा महत्वपूर्ण हेरचाहका डाक्टर जर्ज मर्काडो भन्छन् – ‘भाइरसको संक्रमण भएका कोही व्यक्ति किन गम्भिर विरामी हुन्छन्, कोही व्यक्तिलाई किन लक्षण समेत देखिदैन भन्नेबारेमा वैज्ञानिकहरुसमेत अझै निश्चित छैनन् ।’
सुरुको चरणका लक्षण नदेखिएका कैयन संक्रमणहरुबारे ध्यानै दिइएको थिएन । तर लक्षण नदेखिएका व्यक्तिले सारेको कोरोना भाइरसका कारण अन्य व्यक्ति संक्रमणहुँदा ज्यानै समेत जाने अवस्था आएपनि लक्षण नदेखिएकाहरुका बारेमा पनि विशेष ध्यान दिन थालिएको हो ।
तर लक्षण नदेखिदैमा संक्रमण नभएको र अवस्था सामान्य नै रहेको भने बताउन नसकिने चिकित्सकहरु बताउँछन् । बोस्टनको महिला तथा ब्रिघम अस्पतालको संक्रामक रोग विभागका चिकित्सक डाक्टर डानियल कुर्टिसकेज भन्छन् – ‘लक्षण नदेखिएका व्यक्तिमा इम्युन सिस्टम अलिक राम्रो भएको कुरा कुनै आश्चर्यजनक होइन । तर लक्षण नहुँदैमा उसमा कोरोनाको प्रभाव नरहेको भन्न सकिदैन । लक्षणको अनुपस्थीति संक्रमणको अनुपस्थीति होइन ।’
लक्षण नदेखिएका तर कोरोना संक्रमित सहभागी बिरामीहरुमा सिटी स्क्यान गरेर हेर्दा उनीहरुको फोक्सोमा संक्रमण देखिएको पाइएको छ । लक्षण नदेखिएकाहरुलाई अध्ययनका लागि सिटी स्क्यान गर्दा ५७ प्रतिशतको फोक्सोमा संक्रमण देखिएको डाक्टर डानियलले बताएका छन् । उनीहरुमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएतापनि फोक्सो चेक गर्दा केही निमोनियाका प्याचहरु देखिएका छन् ।
हालैको एक अध्ययनले कतिपय व्यक्तिको प्रतिरोधात्मक प्रणाली केही सवल भएका कारण लक्षण नदेखिएको पाइएको छ । तर उनीहरुमध्ये अधिकांशको फोक्सोमा संक्रमण देखिएका कारण रोग प्रतिरोधात्मक क्षमता हुँदैमा त्यसमा कुनै प्रभाव नपर्ने कुरा मान्न नसकिने चिकित्सकहरु बताउँछन् ।
अगस्तमा प्रकाशित एउटा रिपोर्ट अनुशार साउथ कोरियामा कोरोना संक्रमित ३ सय ३ जना बिरामीहरुलाई आइसोलेसनमा राख्दा ३६ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन भने १९ प्रतिशतमा आइसोलेसनको समयमा लक्षण देखिएको थियो । तर लक्षण भएका र नभएकाहरुमा भाइरसको लोड भने एकैमात्रामा देखिएको थियो ।
अमेरिकाका बरिष्ठ चिकित्सक एन्थोनी फाउचीले आफूले ४० बर्षसम्म संक्रामक रोगका सन्दर्भमा काम गर्ने दौरानमा कोरोना जस्तो भाइरस कहिले पनि नदेखेको बताएका छन् । २० देखि ४० प्रतिशत व्यक्तिमा कुनै लक्षण नै नदेखिने एउटा पनि भाइरसबारे यसअगाडि आफूले थाहा नपाएको उनले बताएका छन् ।
हरेक व्यक्तिमा कोभिड १९ संक्रमणको रेस्पोन्स फरक हुने रिपोर्ट अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन् । संक्रमित हुने व्यक्तिको फरक फरक इम्युन रेस्पोन्सका कारण कोही सिकिस्तै बिरामी हुने र कसैमा लक्षण नदेखिने सोधकर्ताहरुको भनाई छ ।
कोरोना भाइरसले एन्जियोटेन्सिन रुपान्तरण गर्ने इन्जाइम २ लाई सेल रिसेप्टरका रुपमा प्रयोग गरेर मानव सेलमा आक्रमण गर्ने शोधकर्ताहरु बताउँछन् । कोरानाको सेल रिसेप्टरको काम गर्ने उक्त इन्जाइम अलिक मोटोपन भएका बृद्धबृद्धामा बढी ब्याप्त हुने शोधकर्ताहरु बताउँछन् । ६० पार गरेकाहरुका तुलनामा कम उमेरकाहरु कम सिकिस्त हुने कारणमध्ये यो प्रमुख रहेको शोधकर्ताहरु बताउँछन् ।
कतिपय व्यक्तिले इम्युनका कारण कोभिड १९ को भाइरड लोड कम प्राप्त गर्ने र जेनेटिक विविधताका कारण पनि कतिपय व्यक्ति सिकिस्त नहुने वा लक्षणै समेत नदेखिने गरेको शोधकर्ताहरु बताउँछन् ।

कोभिडका -१९ भिन्न भिन्न ६ प्रकारका लक्षण
साधारणतया चिकित्सकहरुले ज्वरो, खोकी, सुघ्ने र स्वाद लिने क्षमतामा ह्रास लगायतलाई कोभिड १९ का मुख्य लक्षणका रुपमा लिन्छन् । तर अध्ययनले ६ प्रकारका लक्षणको सुचीसहित आउने गरेको निष्कर्ष निकालेको छ ।
डाक्टर बब लहिचाले यो निष्कर्ष निकै रोचक भएको बताएका छन् । आफूले उपचार गरेका बिरामीहरुमा फरक फरक खालका लक्षणका सेटहरु देखिएको उनले बताएका छन् । कतिपयमा ज्वरो देखिएको तर कतिपयमा नदेखिएको, कतिपयमा रिंगटा लाग्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएको तर कतिपयमा पखाला लाग्ने लक्षण देखिएको उनले बताएका छन् ।
अध्ययनले निकालेको निष्कर्ष अनुशार पहिलोमा रुघाखोकीजस्तो तर ज्वरो नआउने लक्षण देखिएको छ । जसमा टाउको दुख्ने सुघ्ने क्षमता गुम्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने तर ज्वरो नआउने लक्षण देखिएको छ ।
त्यस्तै दोश्रोमा रुघाखोकीजस्तो र ज्वरो नआउने लक्षण देखिएको छ । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, खानाखान मन नलाग्ने र झिंझो लाग्ने लक्षण देखिएको छ ।
त्यस्तै तेश्रोमा आन्द्रामा ग्यास भरिने अवस्था आउने गरेको छ । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, भोक नलाग्ने, पखाला लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने तर ज्वरो नआउने लक्षण देखिएको छ ।
चौथोमा अत्यन्तै थकान महसुस हुने देखिएको छ । यो पहिलो स्तरको सिकिस्त बनाउने अवस्था हो । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, खोकी लाग्ने, ज्वरो आउने, झिंझो लाग्ने, छाती दुख्ने र थकान महसुस हुने लक्षण देखिएको छ ।
पाँचौमा कन्फ्युजनको अवस्था आउने गरेको छ । यो अवस्था दोश्रो स्तरको सिकिस्त बनाउने अवस्था हो । यसमा टाउको दुख्ने, कन्फ्युजन हुने, सुघ्ने क्षमता गुम्ने, भोक गुम्ने, खोकी लाग्ने, ज्वरो आउने, झिंझो लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, थकान हुने, मांसपेशी दुख्ने लक्षण देखिएको छ ।
त्यस्तै छैठौंमा स्वासप्रश्वास र पेटमा समस्या हुने देखिएको छ । यो अवस्था सबैभन्दा सिकिस्त बनाउने अवस्था हो । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, भोक नलाग्ने, खोकी लाग्ने, ज्वरो आउने, झिंझो लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, थकान हुने, कन्फ्युजन हुने, मांसपेशी दुख्ने, स्वास फेर्न समस्या हुने, पखाला लाग्ने र पेट दुख्ने लक्षण देखिने गरेको छ ।
पहिलो लेभलको बिरामीलाई अक्सिजन दिनुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था कम भएको, दोश्रोमा ४ दशमलव ४ प्रतिशत रहेको, तेश्रोमा ३ दशमलव ३ प्रतिशत रहेको , चौथोमा ८ दशमलव ६ प्रतिशत रहेको, पाँचौंमा १० प्रतिशत रहेको र छैठौंमा २० प्रतिशत रहेको अध्ययनको निष्कर्ष छ ।
कतिपयमा भने लक्षण नै नदेखिने गरेको पाइएको छ । व्यक्तिबाहिरबाट हट्टाकट्टा देखिंदैमा उसको रोग प्रतिरोधात्मक क्षमता थाहा हुँदैन । त्यसैले कसलाई लक्षण देखिन्छ, कसलाई देखिदैन, को सिकिस्त हुन्छ, को हुँदैन भन्नेबारे पहिले नै थाहा पाउन सकिदैन । त्यसैले अहिलेका लागि कोरोनाबिरुद्धको भ्याक्सिन नबनेको अवस्थामा मास्क प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र बारम्बार हात धुन सुझाव दिइदै आएको छ ।





