कोरोनाबिरुद्धका अमेरिकन भ्याक्सिन माइनस ९४ डिग्रीसम्मको चिसोमा राख्नुपर्ने, वितरणमा समस्या आउनसक्ने


प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार

फाइजर र मोडेर्नाका कोरोनाबिरुद्धका भ्याक्सिन निश्चित तापक्रमसहित चिसोमा राख्नुपर्ने जनाइएको छ । भ्याक्सिन चिसोमा राख्नुपर्दा करोडौंलाई वितरण गर्ने क्रममा समस्या हुनसक्नेतर्फ चिन्ता व्यक्त गरिएको छ । चिस्यानमा राख्नुपर्ने प्रावधानका कारण भ्याक्सिन वितरणमा समेत ढिलाई हुनसक्ने अनुमान गरिएको छ ।

फाइजर र मोडेर्नाका कार्यकारी प्रमुखहरुले सीडीसीलाई छुट्टा छुट्टै दिएको जानकारी अनुशार मोडेर्नाको भ्याक्सिन माइनस ४ डिग्री चिसो तापक्रममा राख्नुपर्नेछ । त्यस्तै फाइजर र बायोएनटेक मिलेर बनाइरहेको भ्याक्सिन माइनस ९४ डिग्री फरेनहाइट तापक्रममा राख्नुपर्ने जनाइएको छ ।

यस्तो चिस्यानमा राख्नुपर्ने प्रावधानले परम्परागत फार्मेसीहरु र अफिसहरुमा भ्याक्सिन स्टोर गर्नमा समस्या हुनसक्ने जनाइएको छ । सुविधासम्पन्न ल्याब र अस्पतालहरुममात्र यो सुविधा हुने भएकाले आमरुपमा भ्याक्सिन वितरण र सप्लाई सहज नहुने बताइएको छ । सीडीसीका अधिकारीहरुले यो बारे आफूहरु सचेत रहेको बताएका छन् ।

समुदायमा रहेका क्लीनिक र स्थानीय फार्मेसीहरुमा भ्याक्सिन स्टोर गर्नमा समस्या हुने भएपछि वितरण असहज र निकै ढिलो हुनसक्नेछ । मोडेर्ना र फाइजरले उत्पादन गरिरहेका भ्याक्सिनहरु एमआरएनए प्रविधिबाट बनाइएकाले निकै चिसोमा राख्नुपर्ने जनाइएको छ । तर अन्य प्रकारका भ्याक्सिनहरु त्यती चिसोमा राख्नुपर्ने नहुनसक्छ ।

अमेरिकामा अहिले झण्डै आधादर्जन भ्याक्सिनको विभिन्न चरणको क्लीनिकल परीक्षण भइरहेको छ । बेलायतमा आष्ट्राजेनेका र अक्सफोर्डले मिलेर बनाइरहेको भ्याक्सिन भाइलर भेक्टर भ्याक्सिन हो । त्यस्ता भ्याक्सिनहरु चिसोमा राख्न अनिवार्य नहुनसक्छ ।

अमेरिकामा मोडेर्ना र फाइजरका भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण चलिरहेको छ । जस अन्तरगत २२ हजारभन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ । यी भ्याक्सिनहरु डिसेम्बरसम्म आपतकालिन प्रयोगका लागि बजारमा आउनसक्ने अनुमान गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com