नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


प्रकाशित मिति : १० भदौ २०७७, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १९ हजार ५०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६.६ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १४ हजार ७३९ संक्रिय संक्रमित छन् । आज नेपालमा १३ हजार २५३ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ९ हजार ८३२ रहेका छन् । होम आइशोलेशनमा ६ हजार २८जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ३०१ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र काठमाडौँ उपत्यकामा २३२ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

थप ११ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा २ जना महिला र ९ पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com