निजी अस्पतालमा पनि संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने, उद्धार उडान सुचारु गर्ने निर्णय


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको एक मन्त्रीले नेपालपेज लाई जानकारी दिए । बैठकमा सरकारले चार्टर तथा उद्धार उडानलाई पुनः सुचारु गर्ने भएको छ ।

बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने एकमन्त्रीले जानकारी दिए । हवाइ मार्गबाट तोकिएको मापदण्डअनुसार सीमित संख्यामा मात्रै मानिसहरु ल्याउने र उनीहरुलाई सात दिन अनिवार्य होटल क्वारेन्टिनमा राखेर कोरोना नरहेको पुष्टि भएपछि मात्र घर जान दिने निर्णय भएको हो । मन्त्रीले भने ।

यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ । बिहीबार बसेको मन्त्रिपरिषद बैठक कोरोना रोकथामकै एजेण्डामा केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा धेरै बोलेनन् । उनले सबै मन्त्रीहरुलाई आ–आफ्ना धारणाहरु राख्न समय दिएका थिए । मन्त्रिपरिषद बैठक खास गरी बढ्दो कोरोना महामारी र यसको रोकथामको विषयमा केन्द्रीत रहेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सीसीएमसीले तयार पारेको प्रस्तावलाई अगाडि बढाउने र सरकारको निर्णयलाई एकरुपता दिनेबारे बैठकमा छलफल भएको ती मन्त्रीले बताए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुखद निधन भएकोमा औपचारिकरुपमा श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बाढीपहिरो र कोरोना लगायतका प्रकोपबाट मृत्यु हुनेहरुप्रति पनि मन्त्रिपरिषद बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com