राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने ८ पक्राउ, के छ कानुनी व्यवस्था ?


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीले ८ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र सम्पादन गर्ने सम्म रहेका छन् ।

मङगोल होप नामक युट्युब च्यानलबाट दुई दिनअघि राष्ट्रिय झण्डा जलाइएको म्युजिक भिडियो अपलोड भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको  छ ।

गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् । गीतको भिडियो मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा छायाकंन गरिएको जनाईएको छ ।

मुलुकी ऐनमा के छ ?

मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद ८, दफा १५१ बमोजिम राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था छ ।

दफा १५१ उपदफा (१) मा कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, बस्तु वा अवस्थामा त्यस्तो गान झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भनी व्यबस्था गरेको छ ।

उपदफा (२) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात

मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद ९, दफा १५६ उपदफा (१) मा कसैले लेखेर, बचनले वा आकार वा चिन्हद्वारा वा अरु किसिमबाट जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पु¥याउन हुँदैन । उपदफा (२) मा उक्त उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई २ वर्ष सम्म कैद र बीस हजार रुपियाँ सम्म जरिवाना हुनेछ भन्ने व्यवस्था छ ।

झण्डाको दुरुपयोगमा निषेध

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ को दफा ११ मा राष्ट्रिय झण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यबाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।

राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि गर्न नपाउने भन्दै सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ जारी गरेको थियो । कार्यविधिको बुँदा (घ) मा व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने उल्लेख छ भने बुँदा (ङ) मा व्यक्तिले  शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन निषेध गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com