उपत्यकामा बुधबारदेखि एक साता निषेधाज्ञा, अत्‍यावश्यकबाहेक अरु सेवा बन्द


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

कोरोना संक्रमण ह्वातै बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो। त्यस्तै, काठमाडौं उपत्यकामा आज सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले जनाए । संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्। सोमबार काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो।

सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको आज बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताए । सप्तरी जिल्लाभरि गत साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा आज मध्य राति सकिन लागेका बेला बैठकले पुनः थप गर्ने निर्णय गरेको बैठकमा सहभागी नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा राजनीतिक दल, नागरिक समाजसहित आज बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै अवधि थप गर्ने निर्णय गरेको हो । प्रजिअ आचार्यले जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुई सय नाघेको र विभिन्न स्थानमा संक्रमित बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिनुपरेको बताए ।

प्रजिअ आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकासहित सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल र आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको निर्णय गरेको जनाइएको छ । अत्यावश्यक कामसमेत तोकिएबमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरी गर्न, गराउन निषेधाज्ञा जारी गरिएको बताउँदै प्रजिअ आचार्यले चाडपर्वसमेत घरपरिवारका बीच घरभित्रै मनाउन आग्रह गरेका छन् ।

बागलुङ बजार एक साता बन्द

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरु बन्द गरिदिनुहुन अनुरोध छ”, उल्लेख छ ।

कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा

कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उहाँका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार भदौ १० मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो । पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गर्नुभएको आदेशमा उल्लेख छ ।

प्युठानमा यातायात बन्द

प्युठानमा आज राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । उनले भने,‘अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वका समयमा व्यक्तिको आवतजावत बढी हुने भएकाले यही भदौ १५ गतेसम यातायात बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

जनस्वास्थ्य ‘आपतकाल’ घोषणा गर्न आग्रह

कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आज सांसाद थापाले ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै ‘काठमाडौं उपत्यकालगायतका ‘हटस्पट’ मा कडाइ गर्नु आग्रह गरे ।

उनले अत्यावश्यकबाहेक सबै सेवा बन्द गराउनुपर्नेमा जोड दिएका छन् । उनले अझै पनि कोरोना रोकथाम र नियन्त्रणका लागि विकल्प रहेको उल्लेख गर्दै छिटोभन्दा छिटो अस्पताललाई बिरामी थेग्न सक्ने बनाउनुपर्ने बताएका छन् । त्यस्तै थापाले सरकारले केही दिन अगाडि परीक्षणको मापदण्ड केही खुकुलो बनाएको कुरा सकारात्मक भए पनि पूर्ण नभएको उल्लेख गरेका छन् ।

उनले परीक्षणको दायरा अझै व्यापक बनाउँदै परीक्षणको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । थापाले तत्काल चाल्नुपर्ने कदमका बारेमा विभिन्न ७ बुँदा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com