अध्यागमन अदालत बन्द हुने अवधि एकसाता थपेर सेप्टेम्बर ४ सम्म, नेपालीका ३८७६ केस पेन्डिङ


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

खुल्ने मिति घोषणा गरिएकाबाहेकका अन्य अध्यागमन अदालतहरु बन्द हुने अवधि एकसाता थपेर सेप्टेम्बर ४ सम्म पुर्याइएको छ । सेप्टेम्बर ५ र ६ मा सप्ताहन्त भएकाले अब कम्तीमा ती अध्यागमन अदालतहरु सेप्टेम्बर ७ सम्म नखुल्ने भएका छन् ।

न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत फाइलिङका लागिमात्र खुलेको छ भने फेडरल प्लाजामा रहेको अध्यागमन अदालत फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाईका लागिमात्र खुलेको छ । भेरिक स्ट्रीटमा रहेको अध्यागमन अदालत पनि फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाईका लागिमात्र खुलेको छ ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३८७६ केसहरु पेन्डिङ रहेका छन्, जसमध्ये ३८३४ केसहरु इमिग्रेशन सम्बन्धित रहेका छन् । १३ वटा केसहरुभने अपराधसँग सम्बन्धित रहेका छन् । इमिग्रेशनका नेपालीका पेन्डिङ केसहरुमध्ये सबैभन्दा धेरै न्युयोर्कको फेडरल प्लाजामा १६६९ केसहरु रहेका छन् ।

न्युयोर्क राज्यका ४ वटा अदालतहरुमा नेपालीका पेन्डिङ इमिग्रेशन केसहरु २०२३ रहेका छन्, जसमध्ये ब्रोडवेको अध्यागमन अदालतमा २२८, भेरिक स्ट्रीटमा १२३ र बफेलोमा ३ वटा इमिग्रेशन केसहरु रहेका छन् । न्युयोर्कपछि क्यालिफोर्नियामा १०२६ नेपालीका इमिग्रेशन केसहरु पेन्डिङ रहेका छन् । क्यालिफोर्नियाका ५ सुनुवाइस्थलमध्ये सबैभन्दा धेरै नेपालीका पेन्डिङ केसहरु सान फ्रान्सिस्कोमा रहेका छन् ।

नेपालीका अधिकांश अध्यागमन केसहरु एसाइलमसँग सम्बन्धित रहेका छन् । पछिल्लो समयमा मेक्सिकोबाट अमेरिकी सिमाक्षेत्रमा आएर विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेर एसाइलम दावी गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com