चिकित्सकले कोरोना भएको थाहा पाएपछि…


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

medical doctor with stethoscope on white background

नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दौ रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु प¥यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवती पेट दुखेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् ।

चिकित्सकले गर्भवतीको परीक्षण गरे । उनीले पहिलो सन्तानलाई शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले उनीको छिटो विधिबाट पिसिआर परीक्षण ग¥यो । नतिजा पोजेटिभ आयो । यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था नरहेको र अत्यावश्यक पर्दा लुम्बिनी प्रादेशिकमा शल्यक्रिया हुन नसक्ने जवाफ फर्काए । चिकित्सकको टोलीले शल्यक्रियाका लागि नेपालगञ्ज वा काठमाडाँै लैजान रिफर समेत गरे । गर्भवतीका श्रीमान् पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमा छन् । आफन्तले हतारहतारमा एम्बुलेन्स खोजे ।

“नियमित जाँच गर्दै आएका चिकित्सकले श्रीमान्लाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिए, सरकारी अस्पतालमा त समस्या नहोला भनेर लुम्बिनी प्रादेशिक अस्पताल गयौँ तर यहाँ हुँदैन भन्ने जवाफ पायौँ गर्भवतीका आफन्तले भने, “ त्यसपछि त के गर्ने भनेर एकदमै तनाव भयो ।” गर्भवती, त्यसमाथि कोरोना पोजेटिभलाई काठमाडौँ वा नेपालगञ्जसम्म लैजान एम्बुलेन्स चालक सहजै तयार भएनन् । आज मात्रै परिवारका सदस्यले प्रसूतिका लागि गर्भवतीलाई बुटवलबाट निजी साधनमा नेपालगञ्ज लैजाने निर्णय लिए ।

कोरोना भाइरस पोजेटिभ भएका गर्भवतीको शल्यक्रिया गर्न नसक्ने लुम्बिनी प्रादेशिक अस्पतालको जवाफले यहाँको स्वास्थ्य क्षेत्र कति कमजोर छ भन्ने प्रष्ट भएको गर्भवतीका आफन्त हरि खनालले बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा सेवासुविधा थप भएको, अस्पतालमा निकै राम्रो सुधार आएको जस्ता समाचार सञ्चार माध्यममा आइरहेका छन् । प्रदेशको राजधानीमै कोरोना पोजेटिभको शल्यक्रिया गर्न नसक्ने जवाफले कोरोनाले महामारीको रुप लिए कति गर्भवतीको बच्चा जन्माउन नसकेरै ज्यान जाने हो भन्ने चिन्ता थपिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना फैलिएको करिब पाँच महिनासम्म पोजेटिभ बिरामीको शल्यक्रियाका लागि तयारी नहुनुले स्थानीय तथा प्रदेश सरकारहरुले कोरोना रोकथाम र त्यसले सिर्जना गर्ने स्वास्थ्य समस्या निराकरणका लागि गरेका तयारी कति फितलो छन् भन्ने अझ प्रष्ट भएको छ । अस्पताल प्रशासननले भने कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माण गर्ने तयारी गरेको जनाएको छ । “अस्पतालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमित गर्भवतीका लागि उपचारको व्यवस्था छैन”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनालले भन्नुुभयो, “छुट्टै कक्ष निर्माणका क्रममा छ तर बनिसकेको छैन ।”

त्यस्तै १६ दिनअघि कालिकानगरकी ४९ वर्षीया महिलाको उपचारका क्रममा चितवनमा मृत्यु भयो । उनको शव बुटवल ल्याएर दाहसंस्कार गरियो । त्यसको एक दुई दिनमा मृतकका देवरको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । परिवारका थुपै्र सदस्यमा कोरोनाका लक्षण देखिए । उपमहानगरपालिकाका प्रमुख आफैँ उपस्थित भएर परिवारका सदस्यलाई बाहिर ननिस्किन आग्रह त गर्नुभयो तर उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्न तीन दिनपछि बल्ल स्वास्थ्यकर्मी आए । स्वाब सङ्कलन पनि भयो तर रिपोर्ट समयमा आएन ।

प्रादेशिक अस्पतालकै ल्याबमा नपठाएर भैरहवास्थित ल्याबमा पठाइएका कारण रिपोर्ट आउन ढिला भएको भन्ने जवाफ आयो । जसका कारण मृतकका घरमा आएर फर्किएकासमेत त्रसित भए । रिपोर्ट आउन ढिलाइ भएपछि परिवारकै दुई जना सदस्यले निजीमा परीक्षण गराउँदा पोजेटिभ आयो । आफूहरु सङ्क्रमित भएको करिब १४ दिनपछि बल्ल नगरपालिकाले सङ्कलन गरेको स्वाबको रिपोर्ट आएको उनीहरु बताउँछन् । “रिपोर्ट समयमा नआउँदाको मानसिक पिडा झेल्न झन गाह्रो हुँदोरहेछ”, अहिले बुटवलको आइसोलेशनमा बसेका सङ्क्रमित युवकले भने।

परिवारका केही सदस्य घरमै छन् भने केही देवीनगरस्थित आइसोलेशन सेन्टरमा छन् । उनीहरुलाई १४ दिन राखेर मात्र घर पठाउन मिल्ने स्वास्थ्यकर्मी बताउँछन् । जबकी उनीहरुलाई सङ्क्रमित भएको १५ दिनपछि आइसोलेशनमा लगिएको छ । यसका कारण उनीहरु एक महिना थुनिनुपर्ने अवस्था आएको छ ।

सामाजिक अभियन्ता गोविन्द खनाल यी घटनाले कोरोना सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षणमा सरकारी निकाय संवेदनशील छैनन् भन्ने प्रष्ट देखाएको बताए । समुदायमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले प्रदेश सरकारले प्रत्येक घरका कम्तीमा एक जनाको परीक्षण गर्नुपर्ने र त्यसमा महिला, बालबालिका र वृद्धलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

प्रदेश सरकार र स्थानीय सरकार कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सक्षम रहेको बताइरहे पनि समयमै पिसिआर परीक्षण र रिपोर्टको नतिजा नआउँदा समस्या देखिएको छ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए । उनले कोभिड–१९ सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको बताए ।

“दोस्रो पटकको शल्यक्रिया तथा अन्य शारीरिक समस्या भएको खण्डमा मात्रै अन्यत्र रिफर गरिए पनि सामान्य अवस्थामा भने उपचारको व्यवस्था गरिएको छ”, उनले भने । उनले  भीम अस्पतालमा कोभिड–१९ सङ्क्रमित गर्भवतीका लागि उपचारको व्यवस्था गरिएको दाबी गरे पनि अस्पतालले भने कुनै पनि व्यवस्था नभएको प्रतिक्रिया दिएको छ ।

“हामीलाई कोभिड–१९ सङ्क्रमित गर्भवतीको हकमा उपचार तथा शल्यक्रियाका लागि भने कुनै परिपत्र आएको छैन”, अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले भन्नुभयो, “पछिल्लो समयमा कोभिड –१९ का बिरामीसमेत राखिएको छैन ।” – निरा गौतम / रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com