११ दिनमा कोरोना संक्रमण निको हुने रेम्डिसिभियर नेपाल भित्रिने, कालोबजारी रोकिने अपेक्षा


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

११ दिनमा कोरोनाको संक्रमितको उपचार गर्न सक्ने र मृत्यु दर घटाउने पुष्टी भएको जीवनरक्षक औषधी रेम्डिसिभियरको कालोबजारी मौलाएपछि नेपालको औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई औषधी खरिद गरी ल्याउन स्वीकृति दिएको छ । विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई औषधी ल्याउन शुक्रबार स्वीकृति दिएको जनाएको छ । आईभीमार्फत दिइने यो औषधी भाइलमा उपलब्ध छ ।

थप कम्पनीलाई स्वीकृत दिने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायण ढकालले बताए । ‘हामी फाइल अध्ययन गर्दै छौं, त्यसपछि बाँकी कतिलाई स्वीकृति दिने भन्ने विषयमा निर्णय गर्नेछौं’ –उनले भने । परिस्थिति र आवश्यकताअनुसार रेम्डिसिभियर ल्याउन अनुमति दिने बताउँदै ढकालले बताए । उनले भने – ‘अब केही दिनमै सो औषधी नेपालमा प्रयोग हुनेछ ।’ सरकारमाथि चौतर्फी दबाब आएपछि विभागले औषधि ल्याउने स्वीकृति दिएको हो ।

औषधीको प्रयोगबाट ११ दिनमा संक्रमितहरु निको

एन्टीभाइरल औषधी रेम्डिसिभियर सुरुमा इबोलाको उपचारका लागि बनाइएको थियो तर अहिले उक्त औषधी कोरोनाबिरुद्धको उपचारमा प्रभावकारी देखिएको छ । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्ट अनुशार यो औषधीले कोरोनो संक्रमितहरुको उपचार छोटो समयमा गर्न सफल भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अप्रिलको अन्तिम साता नै कोरोना भाइरसबिरुद्धको उपचारकालागि रेम्डिसिभियर नामको औषधी प्रयोगलाई आपतकालिन अनुमति प्रदान गरेको थियो । क्लीनिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु शीघ्र निको भएको देखाएपछि उक्त एन्टीभाइरल औषधीको प्रयोगका लागि अनुमति दिइएको थियो । कोरोनाबिरुद्ध स्पष्ट सकारात्मक परिणाम दिएको यो पहिलो औषधी बनेको छ ।

यौ औषधी लिएकाहरुलाई ११ दिनमा नै निको भएको पुष्टी भएको छ । परीक्षण अमेरिका, युरोप र एसियाका विभिन्न ६० ठाउँमा १०५९ जना कोरोनाका बिरामीहरुमा गरिएको थियो । ५३८ जना बिरामीहरुलाई औषधीको १० दिनको कोर्स दिइएको थियो । अरु ५२१ जना बिरामीहरुलाई पनि उक्त औषधी दिइएको थियो । ति बिरामीहरुको दैनिक अनुगमन गरेर लक्षणहरु कम भएको नभएको वा कुनै साइड इफेक्ट भए नभएको निरीक्षण गरिएको थियो ।

अमेरिकामा एफडीएको स्वीकृतिपछि कोभिड १९ का अस्पतालमा भर्ना गरिएका बिरामीहरुका लागि औषधी उपलब्ध गराइएको छ । अप्रिलको अन्तिम साता नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लीनिकल परीक्षणबाट उत्साहजनक परिणाम आएको निष्कर्ष निकालिएको दुईदिनपछि एफडीएले औषधीको प्रयोगको अनुमति दिएको थियो ।

रेम्डिसिभियर नामको औषधीको प्रयोगबाट कोरोना संक्रमित बिरामीहरु ११ दिनमा नै निको भएको नेशनल एन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको अध्ययनबाट पत्ता लागेको हो । यो औषधी प्रयोग नगरेकाहरु १५ दिनमा निको भएपनि यो औषधी प्रयोग गरेकाहरु ११ दिनमा निको भएका छन् ।

कम्तीमा यो औषधीको ५ दिनको डोज प्रयोग गरिएका ५० प्रतिशत बिरामीमा उल्लेख्य सुधार आएको औषधी उत्पादनकर्ता कम्पनीले यसअगाडिको रिपोर्टमा समेत जनाएको थियो । यस अगाडि यो औषधीको क्लीनिकल परिक्षण कोरोनाबाट अत्यन्तै सिकिस्त भएका ३९७ बिरामीहरुमा गरिएको थियो ।

अहिलेका लागि भने यो औषधी आईभीमार्फत अस्पतालमा भर्ना भएका बिरामीलाईमात्र दिन सकिन्छ । कोरोनाको संक्रमण पुष्टी भइसकेकाहरुलाईमात्र यो औषधी चलाउन अनुमति दिइएको छ ।

नेपालमा रेम्डिसिभियरको कालोबजारी

कोरोना संक्रमितका लागि अति प्रभावकारी मानिएको आईभीमार्फत दिइने यो औषधी नपाउँदा आईसीयू र भेन्टिलेटरमा उपचार गरिरहेका बिरामीको मृत्युदर बढ्न थालेको थियो । औषधी नेपाल भित्रिएपछि पहुँचवाला बिमारीले प्रयोग गर्ने बाटो खुला हुनेछ ।

नेपालमा यो औषधी प्रयोग गर्न नपाउँदा हुनेखानेले विभिन्न एजेन्टमार्फत बढी मूल्यमा खरिद गरी प्रयोग गरिरहेका छन् । यो औषधी एक डोजको करिब ९ हजार रुपियाँ पर्ने अनुमान गरिएको छ । विशेष गरी भारतीय नाका हुँदै प्रमुख शहरदेखि राजधानीसम्म अवैध रुपमा भित्रिएको रेम्डिसिभियरको कहाँबाट कसले ल्यायो भन्ने विषयमा सरकारले अनुगमन गर्न सकेको छैन ।

भारतमा ६ हजार रुपियाँ तिरेर नेपाल भित्र्याएको सो औषधी अति गम्भीर बिरामीले प्रतिडोज ४० देखि ५० हजार रुपियाँ खर्चेर प्रयोग गर्ने गरेका छन् ।

केही दिनभित्र नेपाल आएपछि एक डोजको करिब ९ हजारसम्म पुग्ने औषधि आयातकर्ताले जनाएका छन् । विभागले कतिमा बिक्री गर्ने भन्ने विषयमा मूल्य तय गरेको छैन । महानिर्देशक ढकालले आपत्काल टार्न नेपाल ल्याउन लागिएको रेम्डिसिभियरको यति मूल्य पर्छ भन्ने निक्र्यौल गर्न नसकिने बताए ।

‘स्वीकृत पाएका कम्पनीले ६ हजार ४ सय, ७ हजार ५ सय र ८ हजार रुपियाँसम्मको मूल्य तय गरेका छन्, नेपाल आइपुग्दा त्यसको मूल्य कति पर्छ भन्ने विषयमा निर्णय गर्न बाँकी छ’ –महानिर्देशक ढकालले बताए । भारतमा सरकारी अस्पतालमा उपचाररत बिरामीलाई सरकारले यो औषधी प्रयोग गरिरहेको छ । यो औषधीले कोरोना संत्रमितको मृत्युदर घटाएको छ ।

औषधीको विश्वसनीयता

सोही आधारमा अमेरिका, बेलायत, फ्रान्स, भारतलगायतका मुलुकमा यसको प्रयोग उच्च गतिमा भइरहेको छ । विराट मेडिकल सञ्चालक डाक्टर ज्ञानेन्द्र कार्कीले हवाईजहाज चार्टर गरी नेपाल ल्याएर सो औषधि प्रयोग गरेका थिए । उनले लगायत केही गम्भीर विरामीले रेम्डिसिभियर प्रयोग गरेपछि नेपालमा यस्को विश्वसनीयता बढेको हो । लगत्तै सरकारले औषधि व्यवस्था विभागलाई खरिद गर्न निर्देशन दिएको हो ।

निर्देशनलगत्तै विभागले सूचना जारी गरी आपूर्ति गर्न इच्छुक कम्पनीलाई आह्वान गरेको थियो । नेपाल मेडिकल काउन्सिलले गत मेमा जारी गरेको ‘इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९’ मा कोरोना संक्रमितलाई रेम्डिसिभियर  चलाउन मिल्ने उल्लेख गरेको थियो ।

आपूर्तिकर्ताले नेपालमा आपत्कालन अवस्थामा प्रयोग गर्ने अवस्थामा करिब १० हजार डोज संकलन गरी राख्नुपर्ने बताएका छन् । अहिलेको आपूर्तिकर्ताले कति ल्याउँछन्, सोहीअनुसार भण्डारण गर्ने सरकारको तयारी छ । हाल नेपालमा कोरोनका संक्रमितको संख्या २६ हजार नाघिसकेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com