अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माण


प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढेको छ । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्न बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेड बक्स’ को बाँकी काम अघि बढाएको छ । अहिले त्यहाँ कङ्क्रिट राख्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।
उहाँका अनुसार यसको निर्माण सम्पन्न गर्ने अवधि अझै चार महिना ९डिसेम्बर० सम्म रहेकाले कम्पनीले बाँकी काम निर्धारित अवधिमा सकाउने देखिएको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म कामको गति हेर्दा हेडबक्स निर्माणमा ढिलाइ हुने देखिँदैन ।”

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले सो दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हेडबक्स बनिसकेपछि मात्रै त्यसमा पानी पठाइनेछ ।” दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । यसअघि काम गरेको इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com