स्मृतिमा बैशाख १२ : जीवनमै नदेखेको आधिँबेहरी देखें


प्रकाशित मिति : बैशाख १२, २०७४ मंगलबार

-जानुका थापा

पक्कै पनि समय बितेको पत्तै नपाईने रहेछ । यो दुई बर्षमा मैले त्यो दिन नसम्झेको विरलै होला । ठुलो आवाजमा कोहि हिडदा हल्लिने घरका भित्ताहरुको थर्कनले मलाई त्यही दिनको सम्झना दिलाउछ । मेरो मानसपटलमा त्यस्तो दिन छैन, जव मैले देखेका दृश्यहरुको फोटो नआओस । २०७२, वैशाख १२ । हो, जुन दिन मैले जीवनमै नदेखेको आधिँबेहरी देखे, कहिल्यै नरसाएका आँखाहरुपनि नओभाएको देखे । यत्रतत्र सर्वत्र छरिएका लासहरु ।

म सधैंझै शनिबार,छुट्टिको दिन भक्तपुरमा रहेको मध्यपुर हस्पिटलको विहानी ड्युटी गर्थे । मेरो कार्यकक्ष थियो आमा तथा प्रसुति सेवा विभाग । जुन मलाई एकदमै मनपर्ने नर्सिङ पेशा र त्यसमध्ये पनि झनै मन रत्तिने विभाग । स्वास्थ्य मन्त्रालयको आमा तथा शिशु स्वास्थ्य कार्यक्रमले दिने स्किल वर्थ एटेन्डेन्टको तालिम सकाए पश्चात म तालिमप्राप्त दक्ष जनशक्तिको रुपमा बर्षौदेखि विभिन्न नर्सिङ कलेज तथा अस्पतालमा काम गर्दै आएको थिए ।

त्यस दिन पनि म आफ्नो कक्षमा प्रशव पिडाले च्यापेर रोइरहेकी अनि आमा बन्ने उत्साहले रमाउदै गरेकी महिलालाई सघाउदै थिए । आमाबन्नु अघि एकैछिन श्रीमानको अँगालोमा छोडदिएर म भित्र पसेको थिए । बच्चा न्यानो पार्ने मशिन वेवी वार्मर तयार पारे । आवश्यक अन्य सामाग्री पनि तयार पारी टेवलमा राखेर म ढोका नजिकै के पुगेको थिए मलाई रिगंटा लागेजस्तो भयो ।

मैले अघि तयार पारेको वेवी वार्मर मेरो खुट्टाअगाडी झ्वाम्म फुट्यो । त्यसका छर्राहरुले मलाई पनि लाग्यो । त्यसपछी मैले सन्तुलन नै गुमाएजस्तो भयो । बल्ल तल्ल ढोकाको साँधलाई समाउन पुगे । अनि दशैंमा लिंगे पिङमा मच्चिएझै अनुभुति भयो । मैले हल्लिरहेको झ्याल ढोका, भित्तेघडी अनि नवजात शिशुलाई जन्मदिन तयार ती महिला र उनको श्रीमानलाई पनि देखिरहेको थिए । मैले केही सोच्न सकिरहेको थिइन के भएको भनेर ।

अकस्मात झ्यालबाहिर ठुलो आँधिहुरी आएझैं धुलाम्मे बादल छायो । घडीको सेकेण्ड सुई एकतमाशले खिडकिरहेको थियो । अर्धचेतन अवस्थामै मैले तिनै नवआमा वन्न लागेकी महिलालाई सम्हाल्न पुगेछु । उनको हात समाउदै उनलाई भुईमा लडन नदिन कोशिस गरिरहे । बचपनमा कुनै आपद्विपदमा ममिले राम् राम् राम भन्ने गरेको अचानक स्मृतिमा आयो । मेडिकल साइन्सको बिद्यार्थी भएपनि सोही भन्न आएछ मलाई पनि । लाग्यो केही न केही वा कोही न कोही त शक्ति छ, यो संसारमा र त यो जगत यति प्रलयकारी छ । अनि संगसंगै आफ्नी आमालाई पनि पुकार्न पुगेछु ‘आमा यो के भको ’ भनेर ।

अव जीवन यही सकियो भन्ने भान भयो । पुरै जीवन फिलिमको रिल झैं फनफनी घुम्यो मात्र ५५ सेकेण्डमा । हल्लन छाडेपछी थाहा भयो । बेहोसीमै भएपनि तिनै आमाबन्ने तरखरमा रहेकी दिदिको हात समाइ नै रहेकी रहेछु । अनि बाहिरतिरै ठुलो हो हल्ला र हाहाकार सुनिन थाल्यो । उनै दिदिको श्रीमानले ठुलै भुईचालो गयो अव के गर्ने भनेपछी बल्ल थाहा पाएकी क्षणमै बेहोसी झैं बनाउने त भूकम्प पो रहेछ । त्यो समय साच्चिकै सवै नेपालीहरु यमराजको मुखमा पुगेका थियौं । अहिले सम्झदा पनि शरिर कापिँरहेको आभास हुन्छ ।

मेरो घर परिवारको छ जना छतिर थियौ । हामी (माहिली बहिनी र म) काठमाडौंमा भएकोले सवैलाई हामै्र बढी पिर थियो । बुवा जागीरको शिलशिलामा रामेछापमा । ममी दोलखामा । त्यसदिन न फोन थियो न सम्पर्कको अर्को कुनै माध्यम थियो । त्यसैले सवैजनालाई समाचार सुन्नुबाहेक केही उपाय थिएन । मेरो भाई काठमाडौदेखि चरिकोट जान हिडेको थियो । बाटो घाटो पहिरोले बन्द भएका थिए । उसको पिर हामीलाई भयो । आमाबुासँग सम्पर्क हुन सकिरहेको थिएन । त्यो पिर त छदै थियो । उता उहाँहरुलाई पनि उस्तै पिर परिरहेको थियो होला । प्रार्थना गर्नुबाहेक कुनै विकल्प पनि त थिएन ।

मनमा डर त्रास र चिन्ताको सिमा थिएन । तर त्यो संगै मेले जे देखे त्यो कहालीलाग्दो थियो र आज पनि मेरो मनमा रहेको त्यो भयले अझै डेरा छाडेको छैन । घर हल्लन छाडेपश्चात कसरी बाहिर निकल्ने भन्ने पनि कुनै उपाय आएन । किनकी अस्पतालको लिफ्ट भएको भाग घरबाट उप्किएर नचल्ने भएको थियो र भ¥याङ चर्केर हिडन नमिल्ने भएको थियो । मलाई भने फेरी उनै दिदिको चिन्ता थियो । पहिलोपटक धर्तीमा पर्दापण गर्न लागेको उनको सन्तानले यो संसारै नदेखि उसको जीवनमा पुर्णविराम लाग्ने होकी भन्ने डर थियो । उनको न्याउरो स्वर आज पनि मेरो कानमा वजिरहन्छ ।

भन्थिन–‘सिस्टर नछोडनुस है ! तपाईले मलाई छाडनुभयो भने म त मर्छु ।’ उनको पिडा बुझ्दै मैले सान्त्वना त दिए तर म आफ्नै ज्यान चाहीं कसरी जोगाउने भन्ने पनि थाहा थिएन । तर पनि मैले उनलाई पहिलो प्राथमिकता दिदै त्यही चर्केको भ¥याङबाट तल जान आग्रह गरे । त्यसपश्चात उनको श्रीमानलाई पनि पठाए एकएकगरी किनकी भ¥याङ कच्चा भएको थियो । दुई जनालाई नथेग्न सक्थ्यो ।

मेरो कक्षका अन्य विरामीहरुपनि एकएक गर्दै सवै तल झरे । तत्पश्चात म पनि ती महिलाको डेलिभरीका लागी अत्यावश्यक सामानहरु एउटै पोको बनाए र लिएर झरे । तल अस्पतालको खुल्ला कम्पाउण्डमा पुगेर सवैलाई देख्दा आँखा रसायो । नयाँ जीवन पाएको भान भयो । त्यहाँ अस्पतालको डिरेक्टर पनि भूकम्पआउनुअघि देखि नै रहेछन । भन्दैथिए –‘करिव ८ तलाको सो अस्पताल भवन भाँच्चिएला झैं मच्चिएको थियो ।’ उनले सोचेका पनि थिएनन रे हामी भवनभित्रका मानिसहरु बाच्यौ भनेर । त्यसको करिव दश मिनेटमा एकजना अधबैंसे दाई अंगालोका एउटा बच्चा च्यापेर आउनुभयो ।

रुदै भन्नुभयो–‘सिस्टर, प्लिज यो बच्चालाई हेर्दिनुप¥यो, घरले पुरेको छिमेकीको बच्चा हो ।’ दुई वर्षिय सो बालकलाई देख्दा लाग्यो भगवान निष्ठुरी भएकै हुन । ती नानीलाई उपचार गर्ने कुनै सामाग्री त थिएन तर जसो तसो जोगाएर मैले अघि गर्भवती महिलालाई भनेर ल्याएको ग्लव्स लगाए र कपास अनि गज निकालेर त्यो नानीको घाउँमा लगाए । अरु साथीहरुको सहयोगमा उनलाई सलाएन पानी चढाए तर उसले त्यो पिडा र शरिरले रगत बगेको रगत रोक्न सकेन । दुर्भाग्यबश, हाम्रो केही जोर चलेन, करिव १ घण्टामा उनले यो संसार छाडीन ।

विस्तारै अन्य घाइतेहरुले अस्पतालको आँगन भरियो । कसैको हात भाच्चिएको त कसैको खुट्टा । कसैको टाउको फुटेको थियो त कतिपय आँगनमै आइपुग्दानपुग्दै परलोक भइरहेका थिए । बालबालिका, तन्नेरी, बृद्धवृदा सवका सव । कोही अछुतो रहेनन् । मानिसहरुको त्यो विभत्स रुप निकै नै कहालीलाग्दो थियो । हामीलाई भने भ्याइनभ्याई नै थियो । सकेजति कोशिस गरिरहेकै थियौ । अचानका मेरो हातमा कसैले समायो । यसो हेरे हातभरी रगत लतपत भएको एकजना भाई भुई लडेर मलाई समाएको रहेछ । उसले हात जोडदै भन्यो ‘दिदि मलाई बचाउनोस न’।

निकै नै माया लागेर आयो । मैले उस्को पिडा महसुस गरे,जीवनको मूल्यबोध भयो त्यो दिन । अन्दाजी १७ बर्षको भाईको छातीमा चोट थियो भने खुट्टा भाँच्चिएको । नाडी कम चलिरहेको थियो । बल्लतल्ल उसको नशा भेटायौ र हतार–हतार सलाएन जोडयौ । तर विस्तारै उ बोल्न छाडयो । उसको धडकन पनि चल्न छाड्यो ।उसलाई बचाउन कार्डियो पल्मोनरी रिस्सिटेस्न गरे तर पनि उनलाई बचाउन नसक्दा निकै नै दुःख लाग्यो । लगातार घाइतेहरुको भिड बढनेक्रम जारी थियो ।

एकएक गर्दै धेरैको ज्यान वचाउन सफल पनि भयौ तर मर्नेहरुको क्रम पनि रोकिएको थिएन । कसैलाई बचाउदाको खुशी एकातिर थियो भने अर्कोतिर भकाभक मरिरहेको लास देख्दा पिडाले मुटुको अर्को पाटो चिसै भइरहयो । त्यतिन्जेजसम्म अघि पहिलेकी गर्भवती दिदिलाइ पनि बेथाले च्याप्दै लग्यो । मलाई चिन्ता थियो । उनलाई र बच्चालाई त बचाउन पाए हुन्थ्यो । तर त्यहाँको अवस्था क्याजुअल्टी हस्पिटल झै भइसकेकाले उनको प्रसुति सेवा त्यहाँ संभव थिएन । र हतारहतार उनलाई नजिकैको अर्को अस्पतालमा लगियो र सफलतापुर्वक उनको प्रसुति गराइयो ।

उनको बच्चाको पहिलो रुवाई सुन्दा भने फेरी अर्को एउटा युद्ध जितेको आभास भयो । खुशीले आँखामा आँशु रसायो । त्यतिवेला त्यो वालकको बाबुआमाको मुहारमा खुशी देख्दा हामी जस्ता स्वास्थ्यकर्मीको प्रतिविम्व पनि देखिइरहेझैं आभास भयो । दुःख र संकटका विच पैदा भएको त्यो बालक नै सफलता र खुशीको अर्को रुप भयो हाम्रा लागी ।

(भूकम्पका समयमा नेपालमा कार्यरत लेखक पोखराविश्वबिद्यालयबाट नर्सिङ बिज्ञान स्नातक तह र त्रिभुवन विश्वविद्यालयमा बालविकास विषयमा स्नातकोत्तर तहमा गोल्ड मेडलिष्ट हुन भने हाल क्यानाडामा नर्सिङमा पोष्ट ग्रयाजुएट गर्दैहुनुहुन्छ ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com