कोरोना संक्रमणबाट निको भएको व्यक्ति तीनमहिनासम्म सुरक्षित : सीडीसी
प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार
अमेरिकन सीडीसीले नयाँ निर्देशिका जारी गर्दै एकपटक कोरोना संक्रमण भएर निको भएको व्यक्ति तीनमहिनासम्म सुरक्षित हुने जनाएको छ । कोरोना संक्रमणबाट निको भएको व्यक्ति तीनमहिनासम्म अरुसँग घुलमिल हुनका लागि कुनै जोखिम नभएको सीडीसीले जनाएको छ ।
प्रतिरोधात्मक क्षमता तीनमहिनासम्म कायम रहने पहिलोपटक स्वीकार गरिएको हो । गत जुनमा गरिएको एउटा अध्ययनमा कोरोनाको सामान्य लक्षण भएका वा नभएका संक्रमितहरु निको भएको दुईदेखि तीनमहिनासम्म एन्टीबडी कायम रहने निष्कर्ष निकालिएको थियो ।
एकपटक कोरोना संक्रमण भएको पुष्टी भएका व्यक्तिलाई तीनमहिनासम्म परीक्षणको कुनै जरुरत नभएको सीडीसीले जनाएको छ । तर लक्षणहरु पुन विकाश भएको खण्डमा भने परीक्षण गर्न सुझाव दिइएको छ ।
सार्स र मर्स लगायतका कोरोना भाइरसका एन्टीबडी एकबर्षसम्म कायम रहने बैज्ञानिकहरुको विश्वास छ । सुरुमा कोभिड १९ को एन्टीबडी पनि एकबर्ष कायम रहने विश्वास गरिएको थियो । तर अहिले कोभिड १९ को एन्टीबडी भने छोटोसमय रहने निष्कर्ष निकालिएको छ ।
गत मेमा प्रकाशित एउटा अध्ययनमा कोरोना संक्रमणबाट निको भएकाहरु काममा फर्कनसक्ने बताइएको थियो । तर उनीहरु कति लामोसमयसम्म संरक्षीत हुन्छन् भन्नेबारे केही खुलाइएको थिएन । कतिपय व्यक्तिहरु दोश्रोपटक संक्रमित भएका खबरहरु पनि आइरहेका छन् ।