कोरोना संक्रमणपछि गायक प्रेमराजा महतको समुदायलाई अपिल : ‘शतर्कता अपनाउन नछाडौं’


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

अमेरिकाको बाल्टिमोर निवासी बरिष्ठ गायक प्रेमराजा महतले आफ्नो दम्पत्तिमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिदै कोरोनाको महामारी कायमै रहेकाले शतर्कता अपनाउन समुदायलाई अपिल गर्नुभएको छ । टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएपछि आफूहरु सपरिवारले कोरोना परीक्षण गराएको र आफू र श्रीमतिलाई मात्र संक्रमण पुष्टी भएको उहाँले बताउनुभयो ।

अहिले आफूहरुको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको उहाँले जानकारी दिनुभयो । आफूहरुले ध्यान राख्दा राख्दै पनि कोरोना संक्रमण भएको बताउँदै उहाँले थप सावधानी अपनाउन समुदायलाई अनुरोध गर्नुभएको हो । समयमै शतर्कता नपनाएको खण्डमा कोरोनाले कसैलाई पनि नछाड्ने भएकाले कोरोनाको भ्याक्सिन वा औषधी नबनेको बर्तमान अवस्थामा सावधानी नै मुख्य उपाय रहेको उहाँले बताउनुभयो ।

आफूहरुको अवस्था सामान्य नै रहेकाले चिन्तित नहुन उहाँले आफ्ना शुभचिन्तकहरुलाई सन्देश दिनुभएको छ । खसोखाससँग कुरा गर्दै महतले भन्नुभयो – ‘मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने जस्ता नियमहरु पालना गर्न नछाडौं । अहिलेको अवस्थामा सबैले सावधानी अपनाउन जरुरी छ ।’

नेपाल सरकारका तर्फबाट अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत बाल्टिमोरमा रेष्टुरेण्ट व्यवसायी समेत हुनुहुन्छ । हाल आफूहरु घरकै एउटा कोठामा आइसोलेसनमा छोरा डाक्टर सरगम महतको निरिक्षण र निगरानीमा बसिरहेको उहाँले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com