अक्टोबरबाट रसियाले आमरुपमा भ्याक्सिन लगाउन सुरु गर्ने, पहिलो प्राथमिकतामा डाक्टर र शिक्षक


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

रसियाले आगामी अक्टोबरबाट कोरोनाबिरुद्धको भ्याक्सिन आमरुपमा लगाउन सुरु गर्ने तयारी गरेको त्यहाँको सरकारले जनाएको छ । स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले कोरोना भाइरसबिरुद्धको भ्याक्सिनको क्लीनिकल परीक्षण पूरा भएको बताएका छन् ।

मस्कोमा रहेको गामालेया इन्स्टीच्युटले भ्याक्सिनको प्रारम्भिक क्लीनिकल परीक्षण पूरा गरिसकेको र कुनै साइड इफेक्ट विना नै भ्याक्सिन सफल भएको मस्कोले दावी गरेको छ । यसै महिना तेश्रो चरणको क्लीनिकल परीक्षण गरेपछि अक्टोबरबाट भ्याक्सिन आमरुपमा बजारमा आउने मस्कोले बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुशार अहिले विश्वमा २६ वटा भ्याक्सिनहरु परीक्षणका क्रममा रहेका छन् । विश्व स्वास्थ्य संगठनले रसियामा बनेको भ्याक्सिनको बारेमा दोश्रो वा तेश्रो चरणको क्लीनिकल परीक्षणबारे सुचिकृत गरेको छैन ।

मस्कोका स्वास्थ्यमन्त्रीका अनुशार डाक्टर र शिक्षकहरुलाई पहिलो चरणमा भ्याक्सिन दिइने भएको छ । रसियाले सन् २०२१ को सुरुसम्म हरेक महिना भ्याक्सिनका कैयन मिलियन डोजहरु उत्पादन गर्ने बताएको छ । रसियाले बताएजस्तै तीब्र गतिमा भ्याक्सिन उत्पादन गरेमा यो नै कोरोनाबिरुद्धको पहिलो भ्याक्सिन हुनेछ ।

रसियाको दावीमाथि अन्तर्राष्ट्रिय समुदायले भने आशंका व्यक्त गरेको छ । अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले चीन र रसियाका भ्याक्सिनबारे आंशका व्यक्त गरेका छन् । रसिया र चाइनाले कसैलाई भ्याक्सिन दिनुअगाडि वास्तवमै परीक्षण गरेरमात्र दिनेछन् भन्ने आफूले आशा गरेको फाउचीको भनाई छ ।

रसियाले अहिलेसम्म भ्याक्सिनको सुरक्षा र प्रभावकारितबारे कुनै पनि तथ्यांकहरु सार्वजनिक गरेको छैन । परीक्षण प्रकृयामा भएको आशंकाका कारण बेलायतले रसियाको भ्याक्सिन अस्वीकार गर्नसक्ने सम्भावना रहेको छ । गत महिना अमेरिका, क्यानडा र बेलायतका अधिकारीहरुले रसियाबाट कोरोना भ्याक्सिनको तथ्यांक ह्याक गर्न खोजिएको आरोप लगाएका थिए ।

अमेरिकन कम्पनीहरु मोर्डेना र फाइजरले तेश्रो चरणको बृहत क्लीनिकल परीक्षण सुरु गरिसकेका छन् । फाइजरले जर्मन कम्पनीसँग मिलेर भ्याक्सिन उत्पादन अगाडि बढाएको छ । त्यस्तै बेलायतको आष्ट्राजेनेकाले प्रारम्भिक परीक्षणमा भ्याक्सिन प्रभावकारी बनेको निष्कर्ष निकालेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com