अमेरिकाले कोरोनाबिरुद्ध भ्याक्सिन लगाउन आव्हान गर्दै नोभेम्बरबाट अभियान चलाउने


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

अमेरिकी सरकारले अमेरिकनहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन आब्हान गर्दै नोभेम्बरबाट प्रचार अभियान संचालन गर्ने भएको छ । कोरोनाबिरुद्धको सफल भ्याक्सिन यसैबर्षको अन्त्यबाट उपलब्ध हुने निष्कर्षका साथ कोरोनाबिरुद्धको भ्याक्सिन अभियान चलाउने योजना बनाइएको हो ।

प्रचार अभियान चारदेखि ६ हप्तासम्म चलाइने जनाइएको छ । भ्याक्सिनका लागि सचेत बनाउने र भ्याक्सिन लगाउने कुरामा कुनै ढिलाई नहोस् भन्नाका लागि नोभेम्बरमा नै यो अभियान चलाउन लागिएको हो ।

भ्याक्सिन कहिलेदेखि उपलब्ध हुने भन्नेबारे ठ्याक्कै टाइमलाइन भने उपलब्ध नभएको ट्रम्प प्रशासनका बरिष्ठ अधिकारीले पत्रकार सम्मेलनमा भने । भ्याक्सिन सबैभन्दा छिटो उपलब्ध भएमा अक्टोबरसम्म र ढिलो भएमा जनवरीसम्ममा उपलब्ध हुने उनले बताए ।

अमेरिकामा मोर्डेना र फाइजरले कोरोनाबिरुद्धको भ्याक्सिनका विश्वकै ठूला क्लीनिकल परीक्षण सुरु गरिसकेका छन् । सोमबारदेखि तीस तीस हजारमा उनीहरुले भ्याक्सिनको परीक्षण सुरु गरेका हुन् । फाइजरले जर्मन कम्पनीसँग मिलेर भ्याक्सिन परीक्षण गरिरहेको छ ।

बेलायतको आष्ट्राजेनेकाले पनि भ्याक्सिनको बृहत क्लीनिकल परीक्षण अमेरिकामा सुरु गर्ने तयारी गरेको छ । अमेरिकाले आष्ट्राजेनेकासँग पनि भ्याक्सिनका डोजहरु बुक गरिसकेको छ ।


अमेरिकी सरकारले सर्वसाधारणहरुमा भ्याक्सिनको वितरणका लागि तयारीहरु सुरु गरिसकेको छ । भ्याक्सिनको वितरण ट्रयाक गर्ने र कसकसले प्राप्त गरे भन्ने मनिटरका गर्ने प्रविधिको विकाशका लागि अमेरिकाले निजी कम्पनीहरुसँग पनि कुराकानी सुरु गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com