कोरोनाबाट यो साता विदेशमा थप एक जनाको मृत्यु : एनआरएनए


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप १ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो ।

योसँगै शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com