प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेट,के भयो कुरा


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ ।

बन्दाबन्दीका बावजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गर्नुभएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति देउवाले कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरू अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो ।

सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंँको मृत्यु, कयौँ बेपत्ता र सयौँ घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

कोरोना सिर्जित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com