अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण, अस्पताल भर्ना


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

बलिउडका चर्चित कलाकार अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएको उनले जानकारी दिएका छन् । अस्पतालले सम्बन्धित निकायलाई जानकारी दिएको तथा परिवार र कर्मचारीहरुको पनि कोरोना परीक्षण गरिएको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

परिवारका सदस्य र कर्मचारीहरुको परीक्षणको नतिजा भने आइसकेको छैन । विगत १० दिनमा आफ्नो नजिकमा आएका सबैलाई परीक्षण गराउन अमिताभ बच्चनले अनुरोध गरेका छन् । बच्चनमा कोरोना संक्रमणका कस्ता लक्षणहरु रहेका छन् भन्नेबारे केही बताइएको छैन ।

यसैबीच अभिषेक बच्चनले पनि आफूलाई कोरोना संक्रमण पुष्टी भएको बताएका छन् । पिता र आफूमा कोरोना संक्रमणको सामान्य लक्षणहरुमात्र देखिएको र दुबैजना अस्पतालमा भर्ना भएको उनले बताएका छन् । उनले सबैलाई नआत्तिन र शान्त रहन आग्रह गरेका छन् ।

अहिलेसम्म भारतमा झण्डै साढे ८ लाखमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । अमेरिका र ब्राजिलपछि सबैभन्दा धेरै संक्रमण पुष्टी हुनेमा भारत रहेको छ । भारतमा संक्रमणबाट साढे २२ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म १६ हजार ७ सय १९ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमितहरुमध्ये ३८ जनाको मृत्यु भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com