अन्य राज्यमा कोरोना संक्रमणको उच्च रेकर्ड कायम हुँदा न्युयोर्कमा कम संक्रमणको रेकर्ड


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

अमेरिकाका अन्य राज्यमा कोरोना संक्रमणको उच्च रेकर्ड कायम हुँदा न्युयोर्क सिटीमा भने कम संक्रमणको रेकर्ड कायम भएको छ । अमेरिकामा देशव्यापी रुपमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या उच्च हुँदा कुनै बेलाको इपीसेन्टर न्युयोर्कमा भने आइतबार अहिलेसम्मकै कम संक्रमितको संख्या रिपोर्ट गरिएको छ ।

आइतबार न्युयोर्क सिटीमा कोरोनाको परीक्षण गरेकाहरुमध्ये १ प्रतिशतभन्दा कममामात्र संक्रमण पुष्टी भएको रेकर्ड सार्वजनिक गरिएको हो । सोमबार न्युयोर्कमा मेयर बिल ब्लाजिओले न्युयोर्कमा कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा कम संक्रमणको रेकर्ड आइतबार कायम भएको बताएका छन् ।

कुनैबेला न्युयोर्क सिटीमा परीक्षण गरिएकाहरुमध्ये ७१ प्रतिशतसम्मलाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोनाको संक्रमण उच्चतम बिन्दुमा पुग्दा न्युयोर्क सिटीमा एकैदिनमा ८५० जनासम्म अस्पतालमा भर्ना भएका थिए तर आइतबार अस्पतालमा भर्ना हुनेको संख्या जम्मा ६२ मात्रै रहेको थियो ।

यसैबीच अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख पुगेको छ भने मृतकको संख्या १ लाख ३२ हजार नाघेको छ । पछिल्लो चरणमा संक्रमण दर उच्च रहेको टेक्सासमा पनि संक्रमितको संख्या २ लाख नाघेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com