कोरोना महामारीकाबीचमा विवाहउत्सव, सहभागी ३५० मध्ये ११३ मा संक्रमण, दुलाहाको मृत्यु


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

भारतको विहारमा कोरोनाको महामारीकाबीचमा गरिएको विवाहउत्सवमा कोरोनाको संक्रमण फैलिंदा विवाहमा सहभागी झण्डै ३५० मध्ये ११३ भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । दुलाहाबाट अरुमा संक्रमण फैलिएको आशंका गरिएको छ भने संक्रमणबाट दुलाहाको मृत्यु भएको छ ।

दिल्लीमा सफ्टवेयर इन्जिनियरका रुपमा काम गर्दै आएका ३० बर्षका युवा विहारको पूर्वी राज्यमा फर्केर विवाह गरेका थिए । कोरोनाका लक्षण देखिंदा देखिदै पनि ती युवाले विवाह सम्पन्न गरेका थिए । विवाहमा सहभागी हुँदा समेत उनलाई ज्वरो आउने र पखाला लाग्ने भइरहेको थियो ।

दुलाहाले विवाह स्थगित गर्न आग्रह गरेपनि परिवारका सदस्यहरुले अस्वीकार गरेको जनाइएको छ । विवाहको अघिल्लो दिनसम्म उनी निकै बिरामी भइसकेका थिए तर दुबै पक्षकाले विवाह स्थगित गर्दा ठूलो घाटा हुने भन्दै विवाह स्थगित गर्न अस्वीकार गरेको इन्डीयन एक्सपे्रसले जनाएको छ ।

दुलाहालाई पसलबाट केही औषधीहरु किनेर खुवाइएको थियो । जसका कारण उनको ज्वरो केहीमात्रामा कम भएको थियो । त्यसपछि योजना अनुशार गत जुन १५ मा उनको विवाह सम्पन्न भएको थियो, जसमा झण्डै ३५० पाहुनाहरु सहभागी थिए ।

दुईदिनपछि दुलाहालाई अस्पतालमा लैजादा लैजादै बाटैमा मृत्यु भएको थियो । परिवारका सदस्यहरुले सरकारी अधिकारीहरुलाई पनि थाहै नदिई हतारहतार दाहसंस्कार गरेका थिए । तर विवाह उत्सवमा सहभागी एकजनाले सरकारी अधिकारीलाई खबर गरेपछि रहस्य खुलेको थियो ।

भारतमा देशब्यापी रुपमा कडा प्रकारको लकडाउन हटाइएको छ तर ५० जनाभन्दा बढी सहभागी हुने जमघटमा भने प्रतिबन्ध लगाइएको छ । दुलाहाको मृत्युपछि सरकारी अधिकारीहरुले विवाहमा सहभागीहरुको कोरोना टेस्ट गरेका थिए । जसमध्ये कैयनमा लक्षण देखिन सुरु गरिसकेको थियो ।

३६० जनाको परीक्षण गर्दा ११३ मा संक्रमण पुष्टी भएको थियो । अधिकांशमा लक्षण नदेखिएको जनाइएको छ । तर उनीहरुलाई अहिले आइसोलेसनमा राखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com