एसाइलम पेन्डिङ एकबर्ष नपुगी वर्क वरमिट नदिइने, अन्तिम नियम आज फेडरल रजिस्टरमा


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

अमेरिकामा वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा हुनुपर्ने लगायतका एसाइलम आवेदनका सन्दर्भमा आधादर्जनबढी परिवर्तनका साथ नयाँ नियम आज फेडरल रजिस्टरमा प्रकाशित गरिएको छ । यो नियम अगस्त २५ देखि लागु हुनेछ ।

नयाँ नियम अनुशार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन दिएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिनेछ । अहिलेसम्म एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिटका लागि आवेदन दिन सकिने नियम रहेको थियो ।

नियमको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

त्यस्तै आवेदकको कारणले आवेदनउपर निर्णय हुनमा ढिलाई भएको अवस्थामा वर्क परमिट अस्वीकार गर्ने समेत नयाँ नियममा व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ नियममा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिएकाहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिने उल्लेख छ ।  त्यस्तै कानुनी रुपमा प्रवेश गर्नेहरुको एसाइलम आवेदन पनि वर्क परमिट प्राप्त गर्ने उद्देश्यकोमात्र देखिएको खण्डमा त्यस्ता आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट जारी नगर्ने समेत नयाँ नियममा उल्लेख छ ।

त्यस्तै युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गरिने भएको छ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्ट प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको थियो ।

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि योग्य नहुने नियममा जनाइएको छ भने अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएकाहरु समेत पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न अयोग्य हुनेछन् ।

त्यस्तै ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् । आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान गरिने छैन ।

यदि कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुने समेत उल्लेख छ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिने जनाइएको छ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिने नियममा उल्लेख गरिएको छ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।

नियममा एसाइलमको आवेदन प्रकृया र अन्तरवार्ताका सन्दर्भमा पनि परिवर्तन गरिएको छ । त्यस्तै वर्क परमिटको म्याद २ बर्षभन्दा बढीको नहुने तर त्यो भन्दा कम म्याद भएको वर्क परमिट समेत जारी गर्न सकिने नियममा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com