मानव तस्करीबिरुद्ध नेपाल सरकारले गतबर्षको तुलनामा प्रयास बढाएको अमेरिकी रिपोर्ट


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले गतबर्षको तुलनामा मानवतस्करीबिरुद्ध प्रयास बढाएको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले आज एक कार्यक्रमका बीच वासिंटन डिसीमा विश्वब्यापी मानव तस्करीबारे रिपोर्ट सार्वजनिक गरेका हुन् ।

रिपोर्टमा नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्यूनतम मापदण्ड पूर्णरुपमा पूरा नगरेको तर त्यसका लागि उल्लेख्य प्रयास गरेको तथा नेपाल सरकारले गतबर्षको तुलनामा मानव तस्करीबिरुद्ध समग्र प्रयासहरु बढाएकाले यो बर्ष पनि टियर टुमा नै कायम राखिएको जनाइएको छ । विगत १२ बर्षदेखि नै अमेरिकाले नेपाललाई टियर टु मा राख्दै आएको छ ।

मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहलहरु र नियमहरु पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ । सरकारले पूर्णरुपमा मानवतस्करीको रोकथामका लागि काम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोश्रो श्रेणीमा राख्ने गरिएको छ । तर थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको वाचलिष्टमा राख्ने गरिएको छ । सरकारले मानवतस्करीको रोकथामका लागि उल्लेख्य पहल नगरेको खण्डमा तेश्रो श्रेणीमा राख्ने गरिएको छ ।

आज सार्वजनिक रिपोर्टमा नेपाल सरकारले मानव बेचविखनमा जटिलताका लागि अनुसन्धानहरु गरेको, मानव तस्करीमा परेका र हेरचाह गृहमा शोषणमा परेका बच्चाहरुको पहिचान गर्ने र उद्दार गर्ने लगायतका कामहरु गरेको तथा विदेशमा तस्करीमा परेका नेपालीहरुको उद्दारका लागि रकम खर्च गरेको भन्दै त्यसलाई सकारात्मक तरिकाले व्याख्या गरिएको छ ।

त्यस्तै तेपाल सरकारले मानव तस्करी रोक्ने कानुन कार्यान्वयन ईकाईलाई तयारी अवस्थामा राख्ने कामलाई निरन्तरता दिएको र संसदले राष्ट्रसंघको २००० ट्राफिकिङ इन पर्सन प्रोटोकलमा प्रवेश गर्नका लागि मतदान गरेको विषयलाई पनि सकारात्मक उपलब्धीका रुपमा व्याख्या गरिएको छ ।

तर नेपालको सरकारले केही मुख्य क्षेत्रमा भने न्यूनतम मापदण्ड पूरा गर्न नसकेको रिपोर्टमा उल्लेख गरिएको छ । नेपाल सरकारको कानुनले सबै प्रकारका मानव तस्करी र यौन तस्करीलाई अपराधिकरण गर्न नसकेको विषयलाई नकारात्मक तत्वका रुपमा लिइएको छ । त्यस्तै प्रहरीले यौन मनोरञ्जन क्षेत्रमा लगाइएका पीडित युवती र बालबालिकाहरुलाई नै पक्राउ गर्ने, हिराशतमालिने र जरिवानागर्ने लगायतका कामहरु गरिरहेकोमा त्यसलाई नकारात्मक तत्वका रुपमा लिइएको छ ।

सरकारी अधिकारीहरुले विदेशमा मानव तस्करीको शिकार भएका मामलालाई प्रहरी र आपराधिक अनुसन्धानका लागि पठाउनुपर्नेमा सन् २००७ को वैदेशिक रोजगार ऐन अन्तरगत नै दर्ता गर्न प्रोत्साहित गर्दै आएको विषयलाई पनि कमजोरीका रुपमा रिपोर्टमा समावेश गरिएको छ ।

रिपोर्टमा मानव तस्करहरुले बर्माका रोहिंगा केटीहरुलाई विवाह र जागिरको प्रलोभनमा नेपाल लैजाने गरेको र यौन धन्दामा लगाउने गरेको उल्लेख गरिएको छ । त्यस्तै नेपाली तस्करहरुले तिब्बती महिलाहरुलाई बुर्किना फासोमा यौन धन्दामा लगाएको रिपोर्टमा उल्लेख छ ।

साइप्रसमा मानव तस्करहरुले नेपालीहरुलाई शोषण गरेको तथा साइप्रसमा जबर्जस्ती काममा लगाइएकाहरुमा नेपाली कामदारहरु समेत संवेदनशिल अवस्थामा रहेको रिपोर्टमा जनाइएको छ । छोटो समयको वर्क परमिटमा आएकाहरुलाई रोजगार एजेन्सीहरुले काममा लगाएर शोषण गर्ने गरेको तथा वर्क परमिट सकिएपछि धम्की दिने, कागजपत्र कब्जा गरेर राख्ने गरेको रिपोर्टमा उल्लेख छ ।

नेपालका महिला र पुरुषहरुलाई तस्करहरुले चेक रिपब्लिकमा पनि जर्बजस्ती काममा लगाउने तथा श्रम शोषण गर्ने गरेको रिपोर्टमा जनाइएको छ । केही फिजीयनहरुले नेपालीहरुलाई विवाह गरेर दासका रुपमा राख्ने गरेको तथा फिनल्याण्डमा नेपालीहरुलाई रेष्टुरेण्ट क्षेत्रमा श्रमशोषण गरिएको रिपोर्टमा उल्लेख छ ।

भारतमा नेपाली महिलाहरुलाई मध्यपूर्वमा लैजाने काममा भारतीय अध्यागमन अधिकारीहरु र प्रहरीले सघाएको र सघाउनेहरुमध्ये केही पक्राउ समेत परेको रिपोर्टमा जनाइएको छ । तस्करहरुले नेपाली महिलाहरुलाई अपहरण गरेर भारतको विहारमा जर्बजस्ती अर्केस्ट्रा डान्सरका रुपमा काममा लगाएको समेत रिपोर्टमा जनाइएको छ ।

केन्यामा नेपाली महिलाहरुलाई यौन धन्दामा लगाइएको तथा सन् २०१९ को अप्रिलमा छापामार्दा १२ जना नेपाली महिलाहरु भेटिएको रिपोर्टमा उल्लेख छ । नेपालका बालबालिकासमेतलाई केन्यामा जबर्जस्ती श्रममा र यौनधन्दामा लगाइएको रिपोर्टमा उल्लेख छ । नेपाली महिलाहरुलाई नैरोवी लगायतका स्थानमा मुजरा डान्समा लगाइएको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com