न्युयोर्क सिटीमा कोरोनाबाट ज्यान गुमाउने र अस्पताल भर्ना हुनेको संख्या दैनिक ५ भन्दा कम


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

कुनै बेला कोरोना महामारीको इपीसेन्टर रहेको न्युयोर्क सिटीमा पछिल्लो समयमा कोरोनाबाट संक्रमित हुने, अस्पतालमा भर्ना हुने र ज्यान गुमाउनेको संख्या निकै घटेको छ । आइतबार न्युयोर्क सिटीमा कोरोनाको कारण ज्यान गुमाउनेहरु ३ जनामात्र थिए भने अस्पतालमा भर्ना हुनेको संख्या पनि ३ मात्रै रहेको थियो ।

न्युयोर्क सिटीमा आइतबार जम्मा ५६ जनामा कोराना संक्रमण पुष्टी भएको थियो । सोमबारको पूरै जानकारी नआएपनि अहिलेसम्मको जानकारी अनुशार १४ जनामा संक्रमण पुष्टी भएको थियो भने अस्पतालमा भर्ना हुनेहरु र मृतकको संख्या शुन्य रहेको न्युयोर्क सिटीको आधिकारिक वेवसाइटमा जनाइएको छ ।

शनिबार न्युयोर्क सिटीमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ७५ रहेको थियो भने ७ जनामात्र अस्पतालमा भर्ना भएका थिए । उक्त दिन ९ जनाको मृत्यु भएको थियो । अप्रिलको पहिलो साता न्युयोर्कका लागि निकै भयानक रहेको थियो । अप्रिल ७ मा एकैदिन कोरोना संक्रमणबाट ५८९ जनाको मृत्यु भएको थियो भने अप्रिल ६ मा १७२० जना अस्पताल भर्ना भएका थिए । उक्त दिन ६ हजार ३ सय ७७ मा कोरोना संक्रमण पुष्टी भएको थियो ।

न्युयोर्कमा कोरोना संक्रमितको संख्या घटिरहँदा टेक्सास, एरिजोना र नेभाडामा संक्रमितको संख्या उच्च बनेर नयाँ रेकर्ड कायम भएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्मका अरु १० राज्यमा पनि कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या उच्च रहेको छ ।

टेक्सासले सोमबारमात्र ५ हजार नयाँ संक्रमण रिपोर्ट गरेको छ भने विगत डेढसातामा अस्पतालमा भर्ना हुनेहरु पनि सोमबार सबैभन्दा बढी रहेका छन् । कुल संक्रमितमध्ये एरिजोनाका २० प्रतिशत, फ्लोरिडा र युटाहका ११ प्रतिशत र टेक्सासका १० प्रतिशत रहेका छन् । न्युयोर्क राज्यभरमा संक्रमितको संख्या अमेरिकामा कुल संक्रमितको एकप्रतिशतमात्र रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com