पछुताउँदैछन् बालविवाह गरेका जोडी


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ– ‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ । त्यस्तै सरकारले गर्ने गरेको ‘विहेवारि २० वर्षपारि’ भन्ने प्रचार पनि उनीहरुमध्ये कतिले सुनेनन् भने केहीले सुनेर पनि वास्ता गरेनन् । उनीहरु सानै उमेरमा विहे गरे । समय बित्दै गएपछि सानो उमेरमा गरिएको विहेका समस्याहरु अहिले आएर देखा परिरहेका छन्, त्यसैले त्यो जोडी यतिखेर पछुताउने गरेका छन् । कैलालीको टीकापुरकी सुनमती चौधरीको पाँच वर्षअघि १५ वर्ष नपुग्दै विवाह भयो ।

सुनमतीका वर्षेनी तीन सन्तान जन्मिए । सुनमति अहिले २० वर्ष पुग्न अझै केही महिना बाँकी छ तर उहाँका सन्तान तीन पुगिसके । नेपालको कानूनअनुसार सुनमती आफैँ बालिका हुनुहुन्छ । बालिका आफैँले तीन बच्चा हुर्काउनु परेको छ । ‘‘मैले विवाहपछिको जिम्मेवारीबारे थाहै नपाई विवाह गरेँ, मलाई सानै उमेरमा तीन बच्चा हुर्काउन कठिन भएको छ’’, सुनमतीले भन्नुभयो, ‘‘मेरो अहिलेसम्म न नागरिकता बनेको छ नत विवाह दर्ता नै भएको छ ।’’ सुनमतीको पहिलो सन्तान चार वर्ष पुगिसकेको छ । ‘‘यस वर्षदेखि विद्यालय पढाउने योजना छ’’, उहाँ भन्नुहुन्छ, ‘‘विवाह दर्ता भएको छैन । बालबालिकाको जन्मदर्ता हुन्न भन्छन्, उमेर पुगेको छैन, कसरी गर्ने होला ?’’ टीकापुर–२ की रेश्मा कामीले उमेर नपुग्दै विवाह गरेका कारण अहिले आएर स्वास्थ्यमा गम्भीर खालका समस्याहरु देखिन थालेको बताउनुहुन्छ । रेश्माका चार सन्तान छन् । ‘‘परिपक्व नहुँदै सन्तान जन्मिए, सन्तान र घरको जिम्मेवारी सँगसँगै उठाउनु पर्दा स्वास्थ्यको ख्याल गर्न सकिएन’’, रेश्माले भन्नुभयो, ‘‘३५ वर्षमै पाठेघरको शल्यक्रिया गर्नुप¥यो ।

अहिल्यैदेखि श्रम गर्नुपर्ने काम गर्नै सक्दिन, डाक्टरले पनि गर्नुहुदैन भन्छन् ।’’ टीकापुरकै सुध्नी चौधरीले १६ वर्षमा भागी विवाह गर्नुभयो । विवाहको लगत्तै गर्भवती हुनुभयो । परिपक्व नहुँदै गर्भवती हुँदा उहाँलाई सन्तान जन्माउन कठिनाई भयो । ‘‘पाठेघरको आकार सानो भएकोले बच्चा पेटमा राम्ररी नहुर्किएको डाक्टरले बताए । मलाई खानपिनमा ध्यान दिन र आराम गर्न भनियो’’, सुध्नीले भन्नुभयो, ‘‘धेरै दुःख पाए । बच्चा त जन्मियो तर सुस्त मनस्थितिको ।’’ सुध्नीले बालिकै हुँदा विवाह गरेका कारण घर सम्हाल्न नसक्दा मानसिक तनाव धेरै झेलेको सम्झनुभयो । अहिले २० वर्ष टेकेकी सुध्नीलाई उमेर नपुग्दै विवाह गरेका कारण बच्चाको मानसिक अवस्था स्वस्थ नभएको भन्ने पीडाले पोल्छ । ‘‘जीवनबारे जान्न नपाउँदै विवाह गरियो, हतारमा बच्चा जन्माइयो’’, सुध्नीले भन्नुभयो, ‘‘पढाइलेखाई पनि बिग्रियो, जीवन पनि कष्टकर भयो । उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने कुरा अहिले आएर बल्ल मनन् गर्दैछु ।’’ उमेर नपुग्दै विवाहपछि आमा बनेका कैलालीका किशोरी कुपोषणको उच्च जोखिममा छन् ।

परिपक्व नहुँदै आमा बन्दा आमा र बच्चा दुबै कुपोषित हुने गर्दछन् । टीकापुर अस्पतालमा गर्भजाँचमा आउने किशोरी आमा धेरैलाई रक्तअल्पता देखिने गरेको छ । गर्भावस्थामा रक्तअल्पता देखिनेमा अधिकांश किशोरी आमाहरु रहेको अस्पतालले जनाएको छ । अस्पतालमा सुत्केरी हुनेलाई रगत अभाव नहोस् भनी टीकापुर नगरपालिकाले निशुल्क रगत पाउने व्यवस्था मिलाएको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीमार्फत् सुत्केरीलाई आवश्यक रगत निशुल्क आपूर्तिको व्यवस्था मिलाएको छ । टीकापुर अस्पतालमा यस वर्ष १५० पिन्ट रगत खपत भएको रक्त सञ्चार केन्द्रका संयोजक टेकराज बिनाडीले जानकारी दिनुभयो । त्यस्तै टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्य चौकीमा सञ्चालित पोषण कार्यक्रमले कडा कुपोषण देखिएका १७ जना बालबालिकालाई तयारी उपचारात्मक खाना खुवाएको छ । ‘‘सामान्य कुपोषण देखिएका त धेरै छन्, यसरी तयारी उपचारात्मक खाना खाने धेरै बच्चा आमा परिपक्व नहुँदै जन्मिएका छन्’’, स्वास्थ्य चौकी प्रमुख हिमाल सारुमगर भन्नुहुन्छ, ‘‘आमा पनि कुपोषित भएका बालबालिका कुपोषणको उच्च जोखिममा परेको देखिन्छ ।’’

बाल विवाह गरेका महिला शारीरिक, मानसिक र आर्थिक समस्या झेल्न वाध्य छन् । जसले उनीहरुमा मनोसामाजिक समस्या समेत देखिने गरेका छन् । कैलालीमा बालविवाह न्यूनिकरणका क्षेत्रमा जनचेतना जगाउने कार्यमा केही सङ्घसंस्था समेत सक्रिय छन् । बाल कल्याण सङ्घ टीकापुरले बाल क्लव गठन गरी बालविवाहका असरबारे जनचेतना जगाउने गरेको छ । सङ्घले कैलालीमा चालू आर्थिक वर्षमा करिव छ सय बालबालिकालाई बालविवाहका असरबारे प्रशिक्षण दिएको छ । यसका साथै बालबालिकालाई समुदायमा हुने बालविवाह रोक्न सक्रिय समेत गराएको छ । ‘‘समाजमा बालविवाह मागी हुँदैन, मागी विवाह भए बाल क्वलले रोकिहाल्छन्’’, बाल कल्याण सङ्घका सहजकर्ता द्रौपती तिमिल्सेनाले भन्नुभयो, ‘‘प्रेम विवाह गरेर भारत जाने गर्नाले रोक्न सकिएको छैन ।’’ तिमिल्सेनाका अनुसार विवाह गरी भारत गएका बालबालिका सन्तान जन्मेपछि मात्रै नेपाल फर्किदा न्यूनीकरणमा समस्या भएको हो ।

कैलालीमा सङ्घसंस्था मात्र नभई स्थानीय सरकार र प्रहरीले पनि बाल विवाह विरुद्ध जनचेतना जगाउने कार्य गरेका छन् । प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालयस्तरमा जनचेतना जगाउने कार्य गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले यस वर्ष १ हजार ४०० विद्यार्थीलाई बालविवाह र लागू औषध दुव्र्यसन न्यूनीकरणबारे प्रशिक्षण दिएको छ । प्रहरीले हरेक विद्यालयमा किशोरावस्थाका विद्यार्थीलाई बालविवाहका असर, कानूनी व्यवस्थाबारे जानकारी दिने गरेको छ । समाजमा अहिले पनि बालविवाह प्रचलनमा छ तर बालविवाह विरुद्ध उजुरीको सङ्ख्या भने न्यून छन् । बालविवाह भए पनि कानूनी कारवाही भएको देखिदैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रतिक विष्टले यस वर्ष कैलालीमा बालविवाहको एउटा मात्रै मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

‘‘बालविवाह नहुने होइन, भएका घटना पनि उजुरी आएमा अभिभावकको जिम्मा लगाउने कार्य हुन्छ’’, प्रवक्ता विष्टले भन्नुभयो, ‘‘मुद्दा चलाउनै पर्ने अवस्था आएमात्र दर्ता हुन्छ । गतवर्ष पनि एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’’ प्रहरीका अनुसार बालविवाह भए पनि प्रहरी कार्यालयमा बालबालिका हराएको ठाडो उजुरी आउँछ । ठाडो उजुरी आए बालबालिकालाई सम्झाईबुझाई अभिभावकको जिम्मा लगाउने काम गरिने भएकोले उजुरीको सङ्ख्या नै कम हुने गरेको छ । टीकापुर–२ विजयनगरका बडघर कर्ण चौधरी विगतमा गरिबीका कारण उमेर नपुग्दै विवाह गरिदिने नेपाली समाज बिस्तारै सचेत बन्न थालेको बताउनुहुन्छ, ‘‘बालविवाह कानूनी रुपमा मान्य छैन भनेपछि केही अभिभावक सचेत भएका छन् । बालबालिकालाई समेत सचेत गराउन जरुरी छ ।’’ बालविवाहका कारण पुरुषलाई आर्थिक भार बढेको छ भने महिलाको शारीरिक, मानसिक विकास हुन सकेको छैन ।

अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ । बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यान समेत जाने गरेको छ । कानुनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछिमात्र किशोरकिशोरी शारीरिक र मानसिक रुपमा परिपक्क हुन्छन् । उनीहरुमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास भएको हुन्छ । तर परिपक्क उमेर नहुँदै आफै विवाह गर्ने बालबालिकाको सङ्ख्या पनि बढ्नु समाजका लागि चुनौती भएको बडघर चौधरीको भनाई छ । उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको टीकापुर अस्पतालका वरिष्ठ स्टाफ नर्स कल्पना खड्काले बताउनुभयो । ‘‘टीकापुर अस्पतालमा अहिले पनि १७ प्रतिशत आमा २० वर्ष भन्दा कम उमेरका छन्, यसले पनि समाजमा बालविवाहले प्रश्रय पाइरहेको देखिन्छ’’, वरिष्ठ नर्स खड्काले भन्नुभयो, ‘‘विवाह गरेका सबै आमा बन्दैनन्, यो तथ्याङ्कले बालविवाह हुने दर बढी छ भन्ने देखाउँछ ।’’ बालबिवाह अन्त्यका लागि थुप्रै कानूनी तथा नीतिगत प्रावधान बनेका छन् ।

संविधानले कानून विपरीत विवाह गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ । नेपालको कानूनअनुसार २० वर्षको उमेर अगाडि गरिने विवाह बालबिवाह हो । उमेर नपुगी भएको विवाहलाई गैरकानूनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ तर समाजमा अझैपनि बालविवाहको अभ्यास हुँदै आउनुले समाज विकासमा वाधा पुग्ने अधिकारकर्मी कल्पना उपाध्यायले बताउनुभयो । नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र दिगो विकास लक्ष्यअनुरुप सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । कानूनले बालविवाहलाई अपराध ठान्ने भएकोले बालविवाह हुन नदिन समाजमा सबै वर्ग सचेत र जिम्मेवार बन्न आवश्यक छ । बालबालिकालाई उमेर नपुग्दै विवाह गर्दा पछि हुने सबैखाले समस्याका बारेमा आवश्यक शिक्षा दिनुपर्दछ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com