साना विजनेशलाई दोश्रो चरणको पेचेक प्रोटेक्सन ऋण दिने बिल सिनेटमा


प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार

विहिबार सार्वजनिक भएको बिल पारित भएमा साना व्यापारका संचालकहरुले पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत दोश्रो चरणको ऋणका लागि आवेदन दिन पाउने भएका छन् । उक्त बिलमा एकसयभन्दा कम कामदार हुने कम्पनीहरुलाई दोश्रोपटक ऋण आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

दोश्रो चरणको पीपीपी ऋण प्राप्त गर्नका लागि भने उनीहरुले पहिलो चरणको ऋण प्रयोग गरिसकेको र कोरोनाको महामारीका कारण विजनेशमा ५० प्रतिशत घाटा भएको देखाउनुपर्नेछ । विजनेश संचालकहरुले आफूहरुलाई पेरोल जारी गर्नका लागि रकम आवश्यक भएको प्रमाणित गर्न सक्नुपर्नेछ ।

मेरिल्याण्डका डेमोक्रेटिक सिनेटर बेन कार्डिनले साना विजनेशहरुले आगामी कैयन हप्ता र महिना संघर्ष गर्नुपर्ने अवस्था आउने र जोखिममा रहेका साना विजनेशलाई सहयोग गर्नका लागि संसदले छिटो कदम चाल्नुपर्ने बताएका छन् । सिनेटर बेन कार्डिन र सिनेटर जेनी शाहीनले उक्त बिल सिनेटमा प्रस्तुत गरेका हुन् ।

अहिलेसम्म एसबीएले पीपीपी ऋण अन्तरगत ५१३ बिलियन डलर स्वीकृत गरिसकेको छ । अझै १ सय बिलियन डलर फण्डको लागि उपलब्ध रहेको जनाइएको छ । पहिलो चरणको पीपीपीको ऋणको लागि आवेदन दिने म्याद जुनको अन्तिम साता समाप्त हुँदैछ ।

यस अगाडि अमेरिकामा कोरोनाको महामारीमा कारण आर्थिक मारमा परेका व्यवसायहरुले प्राप्त गरेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको रकम ८ हप्ताको साटो २४ हप्ताभित्र प्रयोग गर्नसक्ने बिल दुबैसदनबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ । बिलले प्रदान गरेको यो लचतकताबाट तत्काल कामदार फिर्ता बोलाउन नसक्ने र खोल्न नसक्ने ब्यापारहरुलाई राहत पुग्नेछ ।

बिलले कतिसमयभित्र रकम खर्च गरेमा र के प्रयोजनका लागि खर्च गरेमा उक्त ऋण मिनाहा हुने भन्नेबारे थप लचकताको व्यवस्था गरेको छ । बिलले तलबमा ७५ प्रतिशत रकम खर्च गरेमा ऋण मिनाहा हुने प्रावधानमा लचकता अपनाएर ६० प्रतिशत रकम तलबमा खर्च गरेमा ऋण मिनाहा हुने व्यवस्था गरेको छ ।

अरु ४० प्रतिशत रकम मोर्गेज ब्याज, युटिलिटी र भाडामा प्रयोग गर्न सकिनेछ । यो बिलले गरेको व्यवस्थाले पीपीपी ऋण साना ब्यापारका लागि अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com